
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीका गिरफ्तार ४५० बढी नेता-कार्यकर्ताको रिहाईको माग गरेका छन् ।
शुक्रबार एक प्रेस विज्ञेप्ती जारी गर्दै प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका पोलिटव्युरो सदस्य चन्दबहादुर विश्वकर्मा बीरजंगलगायत चार सय पचास बढी नेता कार्यकर्तालाई प्रहरीले शान्तिपूर्ण कार्यक्रम गरिरहेको बेला गिरफ्तार गरेको उल्लेख गरेका छन् ।
आफ्ना गिरफ्तार नेता कार्यकर्तालाई रिहा नगरे आफुहरु शक्तिशाली प्रतिरोधमा उत्रिनुको विकल्प नरहेको कुरा प्रकाण्डले विज्ञेप्तीका जारी गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ–
कथित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले दलाल संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएको हुनाले यसलाई खारेज गर्दै वैज्ञानिक समाजवादको विकल्पमा अगाडि बढ्ने भन्दै जनताको घरदैलोमा हिँडिरहेका नेता र कार्यकर्तालाई राज्यसत्ताले फाँसिष्ट शैलीमा गिरफ्तार गरिरहेको छ ।
त्यसक्रममा कलेजोको बिरामीका कारण कोमामा रहेका छोराको उपचारको लागि अन्तिम प्रयासमा रहनुभएका हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज क. चन्द्रबहादुर चन्द ‘वीरजंग’ को गिरफ्तारीले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैगरी मोरङ जिल्ला इन्चार्ज क. पुस्कर श्रेष्ठ, धनकुटा इन्चार्ज क. माधव गौतम, कोसी ब्युरो सदस्य क. महावीर, चितवन इन्चार्ज क. लालबहादुर विसी, पूर्वी ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख क. मनिक लामा पूर्व केन्द्रीय सदस्य क. सरला रेग्मी, गण्डक ब्युरो सदस्य क. कपिल भट्ट, भोजपुरा स्वायत्त प्रदेशका प्रमुख क. विगा चौरसिया, पाल्पा इन्चार्ज क. पार्वती वि.क. ‘सामना’, पाल्पा सचिव क. भुवन के.सी., रोल्पा इन्चार्ज क. दलबहादुर खत्री ‘जागृति’, रोल्पा सचिव क. सन्तोष सुवेदी ‘प्रयास’, नवलपरासी इन्चार्ज क. पदम के.सी. ‘जुझारु’, थारुवान स्वायत्त प्रदेश प्रमुख क. रामबहादुर चौधरी, रसुवा सचिव क. चेरुङ तामाङ, लम्जुङ सचिव क. सन्तोष कोइरालालगायत सयौंलाई गिरफ्तार गरिएको छ ।
केही दिन अघि विराटनगर न्यूरो अस्पतालमा उपचार गराइरहनु भएका पार्टीका केन्द्रीय सदस्य सन्तकुमार लिम्बुलाई उपचार नै गर्न नदिइ गिरफ्तार गरिएको छ । हाम्रो पार्टी यो फाँसिष्ट तथा अमानवीय दमन–अत्याचारको घोर भत्र्सना गर्दछ । पार्टीका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दसहित ४५० जना भन्दा बढि नेता कार्यकर्ता र जनताको विनाशर्त रिहाइको माग गर्दछ । अन्यथा इतिहासका निर्माता जनताको शक्तिशाली प्रतिरोधलाई कसैले रोक्न सक्ने छैन ।







