अनलाइनडबली, संवाददाता ।

कालिकाेटकाे मालकोटमा शून्य मतदान भएको छ । मालकोटमाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा शून्य मतदान भएको हो ।

दिउँसो ३ बजेसम्म पनि कोही मतदान गर्न नआएपछि निर्वाचनको लागि खटिएर गएका कर्मचारी र सुरक्षाकर्मी सदरमुकाम फर्केका थिए ।सल्लारुख गाउँमा दिउँसै अज्ञात समूह र प्रहरीबीच दोहोरो गाली हानाहान भएपछि हतार हतार गर्दै कर्मचारी र सुरक्षाकर्मी फर्केका हुन् ।

मालकोटमा नन्दादेवी मावि सेरापाटामा मतदान केन्द्रमा करिव पाँच दर्नजभन्दा बढी जना नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०० को संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुको साथै नेपाली सेनाको हेलिकोप्टरबाट बिहानैदेखि सो क्षेत्रमा गस्ती पनि गरिएको थियो ।

मालकोटको शेरापाटामा केही दिन अघिदेखि प्रहरी र स्थानीयवासीबीच सामान्य झडप पनि हुँदै आएको थियो । केही दिनअघि मात्र प्रहरीले ३ जना युवालाई पक्राउ गरेपछि महिलाहरु जम्मा भएर प्रहरीबाट खोसेका थिए । गएराती पनि सल्लारुख गाउँलाई घेरा हालेर छापा मारिएको थियो । सल्लारुख गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गाउँ हो ।

आज मतदानको दिन पनि बिहानैदेखि सो क्षेत्रमा प्रहरी परिचालन गरेर जनतालाई मतदानका लागि दवाव दिएको थियो । तर, दिउसो तीन बजेसम्म पनि मतदान गर्न मानिसहरु नआएपछि त्यहाँ रहेका पार्टीका एजेन्ट, सुरक्षाकर्मी, कर्मचारी आफैले भोट हालेर टोली फर्किएको बताइएको छ ।

त्यसैगरी कर्णाली अञ्चलकै मुगु जिल्लामा स्थानीय जनताले निर्वाचनका लागि गएको सुरक्षाकर्मीसहितको टोलीलाई लेखेटेका छन् । मुगुको सीमा माङग्री गाउँको थाइल मतदान केन्द्रमा गएको निर्वाचन टोलीलाई जनताले लखेटेका हुन् । थाइल गाउँमा मतदानका लागि गएको सुरक्षाकर्मीको टोलीले मतदान गर्न नमानेपछि दवाव दिन थालेको र सो क्रममा आक्रोशित स्थानीयले प्रहरी र कर्मचारीलाई लखेटेका हुन् । सो क्रममा तीन जना प्रहरी घाइते भएको बताइएको छ ।

आजै दिउसो मालकोटको सल्लारुख गाउँ नजिकै रहेको मतदान केन्द्रतर्फ लक्षित गरी केही व्यक्तिले अटोमेटिक हतियारले गोली चलाएका थिए । आइतबार बिहान ९ बजेतिर गोली चलाइएपछि त्यहाँ निर्वाचनका लागि खटिएका कर्मचारी आत्तिएका थिए । त्यसको जवाफ स्वरुप प्रहरीले पनि त्यसतर्फ केही राउण्ड फायर गरेको थियो । त्यसपछि केहीबेर दुबैतर्फबाट गोली हानाहान र दोहोरो भिडन्त भएको थियो । प्रहरीले अज्ञात समूहले सेल्फ लोडिङ राइफलबाट गोली चलाइएको जानकारी दिएको छ । सो क्रममा प्रहरीले २५ राउण्ड गोली चलाएको बताइएको छ । एक स्थानीयवासीले प्रहरीले भन्दा अर्काेतर्फबाट बढी गोली चलेको बताए ।

यसघि मलकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएको थियो । साथै प्रहरीले सल्लारुख गाउँ र त्यस आसपासका गाउँमा घेरा हालेर सर्च अभियान पनि चलाएको थियो । निरन्तर झडप भइरहेपछि त्यस ठाउँमा आजमात्र निर्वाचन सामाग्री र निर्वाचन टोली पुगेको थियो । सेनाको हवाई गस्तीसहित प्रहरीको कडा सुरक्षाकाबीच कर्मचारी र निर्वाचन सामाग्री त्यहाँ पुर्याइएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा पनि मालकोटको नन्दादेवी मावि सेरापाटामा झडप भएको थियो । झडपमा परी एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए । त्यतिबेला मतदान सकिएपछि झडप भएको थियो भने यसपटक मतदान सुरु हुने बित्तिकै गोली हानाहानसहितको भिडन्त भएको हो ।

कालिकोटका अन्य ठाउँमा पनि गए राती र आज दिउसो पनि वम विष्फोटका घटना भएका छन । शनिबार राती मात्र कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा राती भिडन्त भएको थियो । क्यूरी मतदान केन्द्रलाई नेपाल कम्युनिस्ट पार्टी समर्थित कार्यकर्ता र स्थानीयले केही समय नियन्त्रणमा समेत लिएका थिए । मतदान केन्द्रलाई नियन्त्रणमा लिइ उनीहरुले निर्वाचन सामाग्री नष्ट पनि गरेका थिए । मतदान केन्द्रमा रहेको निर्वाचन टोली र प्रहरीको टोली भिडन्त भएपछि भागेको थियो । सो क्रममा प्रहरी सई र हवल्दार तथा दुई जना स्थानीय घाइते भएका थिए ।

राती ९ बजे देखि १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेका थिए । यस्तै शनिबार दिउँसो कालिकोटकै पलाता गाउँपालिकाको डाँफे मतदान केन्द्रका लागी गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकोप्टरले हवाई फायरिङ गरेको थियो ।

त्यस्तै कालिकोटकै मेहलमुडीमा आज बिहान प्रहरीले दर्जनौं राउण्ड हवाइ फायर गरेको थियो । त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकोप्टरमार्फत नै सदरमुकाम फिर्ता लिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार