माओवादी केन्द्रका अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्र ३ का उम्मेदवार प्रचण्डले आफुलाई चितवनमा कांग्रेसले समर्थन गरेको भए आफुले शेरबहादुर देउवालाई राजनेताको संज्ञा दिने थिए भनेर भनेका छन् ।
प्रचण्डले आफुलाई देउवाले समर्थन गरेको भए उनलार्इ राजनेता भनिदिन्थे भनेर पत्रकार ऋषि धमलासँगको कुराकानीमा भनेका छन् ।
प्रचण्डको यस्तो कुरालाई धेरैले अवसरवादी राजनीतिको पराकाष्ठा भनेका छन् ।
पत्रकार ऋषि धमलासँग प्रचण्डले गरेकाे कुराकानीकाे अंश :

तपाईलाई कांग्रेसले भोट हाल्नुपर्ने कारण चाँही के छ ?
म शान्ति सम्झौताको हस्ताक्षरकर्ता । गिरिजाबाबुले मृत्युशैयाबाट शन्ति प्रक्रिया टुङ्ग्याउने जिम्मा तपाईको भनेर जानुभयो । यो कुरा कांग्रस र आम जनताले थाहा पाएको कुरा हो । मैले शान्ति प्रक्रिया टुङ्ग्याएको कुरा पनि सबैलाई थाहा छ । केही समयअघि मात्रै देउवाले संसदबाट मलाई राजनेता भन्नुभएकै हो । चितवन क्षेत्र नम्बर ३ मा पनि मलाई समर्थन गरिदिएको भए मैले पनि शेरबहादुर देउवा नेपालको राजनेता हो भन्थेँ नि । कति राम्रो हुन्थ्यो ? उहाँहरुले मलाई दिनु भएन । मलाई धेरै गुनासो छैन । तर कांग्रेसले यहाँबाट रुख चिन्हबाट नै कसैलाई चुनाव उठाएको भए मैले कांग्रेससँग नै प्रतिस्पर्धा गर्थेँ । तर उहाँहरुले हलोलाई समर्थन गरेर उल्टो बाटो हिँड्नुभयो ।
तपाईले कांग्रेसका कार्यकर्तासँग कसरी भोट माग्नुभएको छ ?
यस्तो बेलामा हलो लिएर हिँडेपछि मैले कांग्रेसका कार्यकर्तालाई विपिको सिद्धान्तका आधारमा मलाई समर्थन गर्न पर्छ है भनेको छु । कांग्रेसका कार्यकर्ताले हसिया हथौडामा भोट हाल्नुपर्छ भनेको छु । तर पार्टीले त राप्रपालाई भोट हाल्न लगाएको छ । तर चिनवन राप्रपाका अध्यक्ष नै सयौँ कार्यकर्ता लिएर हामीतिरै आइसक्नुभएको छ । त्यसैले अब हलो पनि सग्लो छैन । कांग्रेसका कार्यकर्ता हलो बोक्नुपर्दा रुँदै हिँडेका छन् । विपिले भन्नुभएको थियो, एक मुठी माटो लिनुहोस्, छातीमा राख्नुहोस्, अन्तरआत्माको आवाज सुन्नुहोस्, जे ठीक लाग्छ त्यही गर्नुहोस् । अहिले मैले पनि यही भनेको छु ।
वाम गठबन्धनले बहुमत ल्याएर सकार बनायो भने कांग्रेसँगको सम्बन्ध कस्तो हुन्छ ?
भोली कम्युनिष्टहरु एउटै भएपछि पनि कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । कांग्रेससँगको सहकार्य अब सदाको लागि सकियो भन्ने पनि होइन । कांग्रेस पनि देश विकासका लागि पछाडि फर्किने होइन, अगाडि नै बढ्नुपर्छ ।
कांग्रेस सभापति देउवाले त कम्युनिष्ट शासन आयो भने जनताले रुन पनि पाउँदैनन भनेर भन्नुभएको छ नि ?
यो विषयमा म देउवाकै भाषामा जवाफ दिन चाहन्न । थुप्रै उद्योग कलकारखाना कौडीको मूल्यमा बेचेर जनतालाई रुवाइयो । हामी त्यसो गर्दैनौँ । विकास निर्माण भएन, हामी त्यसो गर्दैनाँै । कांग्रेसले रुन मात्रै पा¥यो । हामी हसाउँछौँ भन्न पनि सकिन्छ, तर हामी त्यसो भन्दैनौँ । देउवाले भनेको कुरा निराधार छ ।







