नेकपा एमालेका अध्यक्ष एवं वाम गठबन्धनका मुख्य नेता केपी शर्मा ओलीले तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धलाई गंभीर सैद्धान्तिक भूल भनेर अथ्र्याएका छन् ।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनहुँदै पार्टी एकतासम्म पुग्ने चर्चा चलिरहँदा एमाले अध्यक्ष ओलीले अन्नपूर्ण दैनिकसँगको कुराकानीमा जनयुद्धलाई गंभीर भूल भनेका छन् ।
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा दश वर्षे जनयुद्धको कुनै भूमिका समेत नभएको ओलीले सोही अन्तरवार्तामा व्यक्त गरेका छन् ।
अाेलीले अन्नपूर्णसँग गरेकाे कुराकानीकाे सानाे अंश :

राजनीतिमा हिंसाको प्रयोगबारे तपाईंका धारणाहरू आज के छन् ? २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष, तपाईंहरूको ‘झापा विद्रोह’ र ‘माओवादी विद्रोह’ मा भएको हिंसा र प्रतिहिंसालाई पछाडि फर्केर हेर्दा आज कस्तो महसुस हुन्छ ?
संघर्षको रूपलाई सिद्धान्तको विषय बनाउन सकिन्न । तत्कालीन परिस्थितिको सन्दर्भमा राखेर मात्र यो प्रश्नलाई हेरिनु पर्छ । कांग्रेसले निरंकुश राणाशाहीविरुद्ध गरेको सशस्त्र संघर्षलाई सकारात्मक रूपले हेरिनु पर्छ । झापा संघर्षलाई पनि निरंकुश पञ्चायती तानाशाहीको परिप्रेक्षमा हेरिनु पर्छ । तत्कालीन दमनको वातावरणमा जनताका लागि शान्तिपूर्ण प्रतिरोधका सबै झ्यालढोका बन्द थिए । झापा आन्दोलनको महत्व यसकारण पनि छ कि, २०१८ सालमा दरबारले कांग्रेसको ढाडै भाँचिदिएको बेला त्यो आन्दोलन नेपालमा गणतन्त्र स्थापनाका लागि पहिलो संघर्ष थियो।
अनि माओवादी आन्दोलनमा भएको हिंसा ?
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो। त्यसैले तपाईंले भनेका तीनवटा संघर्षलाई एकै ठाउँमा राख्नु त्रुटिपूर्ण हुन्छ। कसैलाई मन पर्छ भन्दैमा त्यो गर्न सकिन्न।
साधनका रूपमा हिंसाको प्रयोग नगरेको भए नेपालमा गणतन्त्र यति चाँडो आउँदैनथ्यो भन्ने तर्कसँग तपाईं सहमत हुनु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गर्नु पर्थ्यो। सरकारले छानबिन गर्नु पर्थ्यो त्यसपछि त्यो परिस्थिति बेग्लै ढंगले जानेथ्यो । नेपालमा राजतन्त्र त दरबार हत्याकाण्ड भएकै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो। माओवादी हिंसाबाट राजतन्त्र गएको हो र ? सेना त छँदै थियो नि। सेना पराजित भएको थियो र ? सेना त जस्ताको त्यस्तै बाँकी नै थियो । नेपाली जनताको अभिमत र दबाबबाट राजतन्त्र गएको हो। नेपालमा मात्र होइन, विश्वका कयौं देशमा त्यही भएको छ । इरानको राजालाई कसले हटायो ? सशस्त्र संघर्षबाट होइन। मास मुभमेन्टबाट हटाइयो । मैले त गिरिजाप्रसाद कोइरालालाई भनेकै थिएँ, ‘दरबार सिल गर्नुस्। तपाईं निर्वाचित प्रधानमन्त्री हो। स्थिति नियन्त्रणमा लिनुस्।’
माओवादीको हिंसात्मक संघर्षका कारण राजतन्त्र पतनको गति तीव्र भएको थियो भन्ने बुझाइ तपाईं मानिरहनु भएको छैन ?
त्यसलाई मान्दा र नमान्दा दुवै अवस्थामा यथार्थमा कुनै फरक पर्दैन विजयजी । यस विषयमा हामी लामो छलफल कुनै अर्को दिन पनि गर्न सक्छौं।







