
प्राध्यापक एवं विश्लेषक कृष्ण खनालले देशभरिका निर्वाचन बहिष्कारका क्रममा देखिएको शक्ति प्रदर्शनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशको निकै ठूलो शक्तिको रुपमा उदाएको बताएका छन् ।
खनालले प्रचण्डको विचलनले विप्लवहरुको जन्म भएको र यसले शान्तिप्रक्रिया असफल हुन पुगेको बताएका छन् ।
कान्तिपुर दैनिकमा उनले यस्तो विचार दिएका हुन् । खनालले विप्लवको पार्टीलाई कुनै पनि मानेमा कम नआक्न सत्तासिन दललाई आग्रह गरेका छन् ।
प्राध्यापक खनालकाे विश्लेषण यस्ताे छ :
बम विस्फोटको घटनालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो त, यो कुरा अहिलेकोे राजनीतिक / संवैधानिक विकाससँग असहमत हुँदै यसलाई खुला चुनौती दिने विप्लव समूहको संलग्नतमा शंका गर्नु पर्दैन । उ संलग्न छैन भने त्यसको सार्वजनिक पुष्टि गर्नुपथ्र्यो । त्यो समूहलाई जिम्मेवार मान्ने हो भने उसको राजनीतिक आयातन निकै बढेको स्वीकार गर्नुपर्ने हुन्छ ।
त्यो भनेको शान्ति प्रक्रिया असफल भएछ भनेर मान्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आफ्नो र सांगठनिक पकड पुरै गुमाएछ भनेर बुभm्नु पर्ने हुन्छ । सशस्त्र विद्रोहका क्रममा उसले हिजो प्रयोग गरेका औजार, अपनाएका प्रविधि र प्रशिक्षित गरेका जमात आज उसको पकडबाट बाहिरिएछन् र राजनीतिक वा अपराधिक जुनसुकै प्रयोजनका लागि उपलब्ध छन् भनेर बुझ्नुपर्ने हुन्छ ।
चुनावपछि माओवादी केन्द्र एमालेमा विलय होला तर सशस्त्र विद्रोहको उसको विरासत नयाँ संगठित राजनीतिक चुनौतीका रुपमा पुनरुत्थान हुन थालेको संकेत दिन्छ । जसरी हिजो देशीविदेशी शक्तिले माओवादीको उपयोग गरे र माओवादीले पनि उपयोग गरे, त्यही अवस्था फेरि पनि नबन्ला भनेर ढुक्क हुने स्थिति रहेन ।







