नेपाली कांग्रेसका नेता प्रदीप गिरिले चुनावपछि एमाले र माओवादी केन्द्रको गठबन्धन टुट्ने खुलासा गरेका छन् ।

अलनलाइनखबरसँग कुराकानी गर्दै कांग्रेस नेता गिरिले चुनावपछि वाम गठबन्धनले हारेपछि प्रचण्डकाे स्थिति डामाडाेल बन्ने र उनलार्इ कांग्रेसले नै काँध थाप्ने बताए ।

गिरिले चुनावमा एमाले र माओवादी केन्द्रको मतपरिणाम असाध्यै न्यून आउने भएकोले सो गठबन्धन चुनावपछि टुट्ने बताए ।

बाँकी उनीसँगकाे कुराकानीकाे सानाे अंश :

अनि कम्युनिस्टले जिते भने अधिनायकवाद ल्याउँछन्, रुन पनि पाइँदैन भन्ने कुरा कांग्रेस नेताहरुबाट आइरहेको छ किन हो ?

म त्यो सम्भावना देख्दिनँ । बिचारधाराको संघर्षमा नेकपा एमाले, नेकपा माओवादीको मालेमावाद र कांग्रेसको समाजवाद छाड्दिनुस । प्रजातन्त्र भनेको मुख्यतः व्यक्तिको स्वाधीन चेतनालाई केन्द्रमा राखेर गरिने चिन्तन हो । साम्यवाद भनेको चाहिँ व्यक्तिभन्दा पार्टी ठूलो हो भन्छ । अधिनायकवादी बिचारधाराका बाहक जसरी प्राचीन विचाराधारमा प्लेटो थिए, शंकराचार्य पनि थिए । हेगेल पनि थिए । यसको मतलब उनीहरुले अधिनायकवादी समाज बनाएका थिएनन्, उनीहरुको सोच अधिनायकवादी थियो, व्यक्तिले आँटेर अधिनायकवादी समाज बनाउने होइन ।

जुन यो सूचना संयन्त्रको विकास भएको छ, भूमण्डलीकरण आएको छ, यसको अगाडि कसैले चाहेर पनि अधिनायकवाद ल्याउन सक्दैन । एमाले र माओवादीले अधिनायकवाद ल्याउछन् भन्नु चुनावी प्रचारमात्र हो । शेरबहादुरजीले भनिरहनुभएको छ । यो कुरा म भन्छु, कुनै हालतमा अधिनावयकवाद ल्याउँदैनन् । तर, चुनावको बेला हो, म पनि भन्छु, आधारभूत रुपमा शेरबहादुर देउवा सही हुनुहुन्छ, एमाले माओवादी गलत छन् ।

ठूला दुई कम्युनिस्ट पार्टी मिलेका छन्, कांग्रेसले जति त्रास सिर्जना गरे पनि बहुमत त ल्याउलान् नि होइन ?

म त उनीहरु विरुद्ध कुनै पनि हालतमा बहुमत नल्याउन् भनेर चुनाव लडेको मान्छे । कथम कदाचित एउटै चुनाव चिन्हमा लडेका भए कदाचित (ठूलो अक्षरमा क) बहुमत पनि ल्याउने थिए । कदाचित ठूलो क हुन्छ । तर अहिले अलग अलग चिन्हमा लडेको ठाउँमा त बहुमत ल्याउछन् भन्ने लाग्दैन ।

एमाले जम्मा १०३ ठाउँमा उठेको छ, कांग्रेस १४५ स्थान भन्दा बढी ठाउँमा लडेको छ । समानुपातिमा कांग्रेसको जति सिट एमालेको आउँदैन । कुनै पनि हालतमा एमाले र माओवादी गठबन्धनको स्पष्ट बहुमतको सम्भावना म देख्दिनँ ।

त्यसोभए त प्रचण्ड र केपी ओलीको सहकार्य पनि चुनावसम्मलाई मात्रै हो त ?

विल्कुल । चुनावपछि सहकार्य प्रचण्ड र ओलीको हुँदैन । यसमा कुनै संशय छैन । कुन घटकसँग मिल्ने भन्ने कुरा प्रचण्डजीले त्यहीबेला निर्णय गर्नुहुन्छ । त्योबेला प्रचण्डलाई कांगेसले फेरि पनि काँध हाल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार