नेपाली कांग्रेसले निर्वाचनमा ठूलो पराजय भोगेपछि त्यो पार्टी ठूलो संकटबाट गुज्रिएको छ ।

अप्रत्यासित पराजय भाेगेपछि कांग्रेसमा अब पूूरानो पुस्ताले विदा लिएर नयाँलाई छोड्नु पर्ने भन्दै युवा नेता गगन थापाहरुले हस्तक्षेप गर्न थालेका छन् ।

गगनहरुले अब पार्टी सभापति देउवा र पौडेलहरुले नेतृत्व छोड्नु पर्ने भन्दै त्यसो नगरिए आफुहरुले नेतृत्वलाई गलहत्याउने चेतावनी दिएका छन् । गगन थापाले पार्टी नेतृत्वलाई दिएको चुनौतिसँगै कांग्रेस अब संकटमा पर्न थालेको छ ।

अनलाइनखबरमा निकै आक्रमक अन्तर्वार्ता दिएका गगनले नेताहरुले सहजै नेतृत्व नछाडे हस्तक्षेप गरेर जाने बताएका छन् ।

उनै थापाको अन्तर्वार्ताको संक्षिप्त अंश

तपाईको विचारमा कांग्रेसका शीर्ष नेताहरु सामुहिक रुपमा असफल सावित भएकै हुन् त ?

म उहाँहरुलाई असफल हुनुभयो पनि भन्दिनँ, उहाँहरुको समय सकियो भन्छु । मैले त पार्टीमा एउटा बहस उठाउन खोजेको हुँ । यो निर्वाचनको लगत्तै हाम्रो केन्द्रीय समितिको बैठक बस्छ । केन्द्रीय समितिको बैठकमा आरोप प्रत्यारोप हुन्छ । ए…. गालीगलौज हुन्छ, यो कारणले गर्दा हारियो, त्यो कारणले गर्दा हारियो भनेर दुई तीन दिन हामी बोल्छौं । एक अर्कालाई गाली गर्छौं, अनि सकियो । त्यसपछि फेरि हामी कुनै नयाँ कुराविना संसदमा जान्छौं । म यस्तो हुने एकदमै बढी सम्भावना देख्छु ।

त्यसैले अहिले नै मैले उठाउन खोजेको कुरा के हो भने अब सानोतिनो टालटुले कुराले हुँदैन । कति साथीहरुले नेतृत्व परिवर्तनको कुरा उठाउनुभएको छ । तर, ‘क’ को ठाउँमा ‘ख’ लाई ल्याएर मात्रै हुँदैन । पार्टीभित्र यो भन्दा धेरै सुधारको आवश्यकता छ । त्यसैले दुई महिना, ४ महिना जति लागे पनि विशेष महाधिवेशन नेतृत्वले बोलाएन भने हामीले पहलकदमी गरेर भए पनि बोलाउनुपर्छ । पार्टीको विधानमा यसको पनि व्यवस्था छ ।

किन बोलाउने विशेष महाधिवेशन ?

म त भन्छु यो निर्वाचनको परिणाम सकिनासाथै पार्टीको पहिलो पुस्ताका नेताले आफैं घोषणा गरेर शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले अब हामी सांसदका रुपमा, केन्द्रीय सदस्यका रुपमा रहन्छौं, तर कार्यकारी जिम्मेवारी लिएर हिँड्दैनौं अब नयाँ आउनोस् भन्नुपर्छ । नयाँ पनि छन् नि त । मभन्दा अगाडिको जेनेरेशनलाई अब एकचोटि तपाईहरु मिलेर चलाउनोस् भन्दा हुन्छ ।

नेतृत्वले छाड्नै चाहेन भने के गर्नुहुन्छ ?

हाम्रोे प्रयास त नेतृत्वबाट आफैंले घोषणा गराएर लिएर जाने भन्ने हुन्छ । उहाँहरुले त्यसो गर्नुभएन भने लडेर जुधेर भए पनि त्यसो गराउनुपर्ने हुन्छ । पार्टीको निर्णय गर्ने ठाउँमा फरक ढंगले सोच्ने व्यक्तिको आवश्यकता छ ।

जस्तै- प्रचण्डको सरकारको ठाउँमा हामीले सरकारको नेतृत्व गरेर चुनावमा जाँदा हामीलाई के फाइदा भयो ? प्रचण्डकै नेतृत्वमा हामी चुनावमा गएको भए के हुन्थ्यो ? प्रचण्डको नेतृत्वमा बनेको सरकारले स्थानीय चुनाव गराएको थियो, यो चुनाव पनि उनकै सरकारले गराएको भए हुन्थ्यो यो वाम गठबन्धन बन्थ्यो ?

तपाई यस्ता कुराहरु त बेलाबखत बोलिराख्नुहुन्छ, तर तपाईको यो आवाज कांग्रेसभित्रै सुनुवाइ हुँदैन…..

म यसैका लागि त्यो महामन्त्रीको कुर्सीमा बस्न जान खोजेको थिएँ । त्यो पार्टीभित्रको सेकेन्ड पोजिसन थियो । त्यहाँ त म यस्तो भइदेओस् भन्ने ठाउँबाट यस्तो हुनुपर्छ भन्ने ठाउँमा जान खोजेको हुँ, तर, पाइनँ नि त । मैले प्रयास त गरेको हो नि ।

मेरो ठाउँबाट म नेताहरुले सकेसम्म आफ्नो ठाउँबाट सोच्नुहोस् भन्छु । त्यो मान्नुभएन भने पनि साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयास गर्छु । उहाँहरुले छोड्नैपर्छ । अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार