मिरमिरे अनलाइन संवाददता ।

वाम गठबन्धनले सुबिधाजनक बहुमत हात पारे पछि एमाले र माओवादीबीच पार्टी एकताको विषयले अब पुनः चर्चा पाउन शुरु गरेको छ ।
अहिले प्रत्यक्ष तर्फ करीब एमाले एक्लै बहुमतको नजिक छ भने माओवादीले पनि सन्तोषजनक मत प्राप्त गरेको छ ।
यो परिणाम पछि उत्साहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार गठन अघि नै पार्टी एकता गर्नु पर्नेमा लागेका छन् भने एमाले अध्यक्ष ओलीले भने सरकार गठन पछि मात्रै पार्टी एकताको बारेमा छलफल अघि बढाउने बताएका छन् ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सरकार अघि नै पार्टी एकताको पहल गर्ने बताए तर त्यसको अघिल्लो दिन साझ एपी वान टिभीमा दिएको अन्तवार्तामा एमाले अध्यक्ष ओलीले सरकार गठन अघि पार्टी एकता नहुने बताएका छन् ।
अाेलीले पहिला सरकार गठन हुने र दुई तीन महिनापछि मात्रै पार्टी एकता हुने बताए । साथै ओलीले आफू प्रधानमन्त्री हुने घुमाउरो संकेत गरे भने प्रचण्डलाई पार्टी अध्यक्ष दिने कुरा भने स्पष्ट बोल्न चाहेनन् ।
‘पार्टी अध्यक्ष नै हुने हो भने त अहिले उहाँ अध्यक्ष हुनुहुन्छ, म पनि अध्यक्ष छदैछु किन एकता गर्नु पर्यो ।’ ओलीले महाधिवेशन या कुनै ठाेस प्रकृयाले मात्रै अध्यक्ष या कार्यकारी नेतृत्व चुन्ने भन्दै प्रचण्डकाे तत्कालै पार्टी अध्यक्ष पाउने अाशा तत्काललार्इ टरेकाे बताइएकाे छ ।
प्रचण्डले पार्टी अध्यक्ष नपाउने अवस्थामा पनि एमालेसगँ एकता होला त ? यो विषय भने अझै स्पष्ट हुन सकेको छैन । तर आखिर प्रचण्ड एमालेसगँ एकताका लागि किन हतार गरिरहेका छन् त्यो भने चासोको बिषय छ ।







