नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको राजनीतिमा अन्तरध्वंश गन भारतले १२ बुँदे समझदारीमाफत प्रचण्ड र बाबुरामलाइ सहयोग गरेको खुलासा गरेका छन् ।

बिजुक्छेले भाारतमा गरिएको १२ बुँदे दिल्ली सम्झौता भारतीय शासकले नेपालको राजनीतिमा हस्तक्षेप गन गरेको कदमका रुपमा लिएका छन् । वरिष्ठ पत्रकार युवराज घिमिरेसँगको कुराकानीमा बिजुक्छेले यस्तो कुरा खुलासा गरेका हुन् ।

विजुक्छेसँगको कुराकानीको सम्पादित संक्षिप्त अंश :

यसले भारत र नेपालको सम्बन्धलाई त प्रभावित गर्यो नि?

भारत नेपालसँग रिसाउनुका पछाडि तीनवटा मुख्य कारण छन् । एउटा उसलाई चीनसँगको नेपालको मित्रता धेरै मन नपर्ने । अर्को माओत्सेतुङको नेपालमा प्रभाव पनि मन नपर्ने । १९६२ मा भारत–चीन युद्धपछि भारतले नेपाललाई असहयोग गर्न थाल्यो । त्योसँगै नेपाललाई माओवादले नै ठिक गर्छ भनेर पछि भारतले माओवादीलाई नै पालनपोषण गर्न थाल्यो । भारतले नेपालमा विध्वंश मच्चाउन माओवादीलाई सहयोग गरेको हो । माओवादीको युद्ध चलिरहेका बेला भारतमा गएर हामीले प्रचण्ड र बाबुरामलाई भेटेर भनेका थियौं कि हाम्रो इच्छाअनुसार तपाईहरु गर्नुहुन्छ भने देश अघि बढ्छ । भारतको इच्छाअनुसार काम गर्ने हो र उसलाई मनाउन लागिपर्ने हो भने देश डुब्छ । प्रष्ट भाषामा भन्‍नु पर्दा माओवादीको नेतृत्व भारतको कमाण्ड एण्ड कन्ट्रोलमा छ, त्यो नेपालमा छैन ।

विदेशीको आडभरोसामा काम गर्दा कुनै पनि बेला हामी फसिन्छ । सोभियत संघमाथि हतियारमा भर पर्दा र समयमा हतियार आपूर्ति नहुँदा कोरिया टुक्रियो । कोरियाली जनता किन आफ्नै खुट्टामा उभिन खोजेका छन त ? हामी अरुकै भर परेका कारण सम्पन्न हुन सकेनौ भन्‍ने बोध उनीहरुमा छ । सडकमा कुद्ने ९० प्रतिशतभन्दा धेरै गाडीहरू भारतबाट आउँछ । १५ लाखको गाडीलाई यहाँ हामी ५० लाख तिरेर किन्छौ । भारतको नेपालमाथि एकाधिकार जमिरहेको छ । त्यसको विकल्प नभएसम्म हामी कहिल्यै पनि अघि बढ्न सक्दैनौँ ।

अब अलि फरक प्रसंग । १२ बुँदे सम्झौतामा तपाईं पनि सहभागी हुनुभयो ?

१२ बुँदे भन्‍ने हामीलाई थाहा पनि थिएन । हामीलाई के भनिएको थियो भने राजा र माओवादीबीच वार्ता बेलायतमा हुँदैछ । त्यसको निम्ती माओवादीका नेता जर्मनी जाने तयारी थियो । बाबुराम भट्टराईले त्यसबारे दिल्लीलाई बताइदिए । राजा बेलायतको कहाँ बस्ने र उनको सुरक्षाको समेत व्यवस्था भइसकेको थियो । तर, त्यो थाहा पाएपछि भारतले वार्ता गर्न दिएन । त्यत्तिमात्र होइन वार्ता दिल्लीमा वा उसको पूर्ण जानकारीमा गराउन चाहन्थ्यो ।

मैले काठमाडौंको हरेक जनसभामा भन्‍ने गरेको थिएँ कि हाम्रो वार्ता कोलम्बो ढाका, रावलपिन्डी, टोकियो वा पेकिङ कहिँ पनि हुन सक्छ । तर दिल्लीमै किन हुनुपर्यो ? अगाडिको ढोकाबाट स्याल निस्कने र पछाडिको ढोकाबाट व्वाँसो आउन सक्‍नेबारे मैले जनतालाई सचेत बनाउँदै आएको थिएँ । सबैले त्यसलाई बेवास्ता गरे । त्यही सेरोफेरोमा एकदिन गिरिजाबाबु बिरामी परेका बेला उहाँलाई भेट्न गएको थिए, उहाँको निवासमा । दिल्लीबाट कृष्णप्रसाद सिटौलाको फोन आयो ।

गिरिजाबाबुले अक्सिजनको मास्क फुकाल्दै यतिका दिन किन तिमीहरु दिल्ली बसेको भन्दै सिटौलालाई हप्काउनु भयो । ‘तिम्रो कन्स्टिचुएन्सी दिल्ली नै हो कि के हो ?’ समेत भन्‍नुभयो र तुरुन्तै नेपाल फर्कन पनि निर्देशन दिनुभयो । मैले त्यसबारे केही पनि सोधिन । त्यसलगत्तै म जुम्ला गएको थिएँ । त्यहाँबाट फर्कदै गर्दा नेपालगञ्ज पुगेपछि सिटौलाले मलाई फोन गर्दै सम्झौताबारे सुनाउनुभयो । त्यसमा नेपालको राजनीतिक समाधानका सन्दर्भमा भरपर्दो शक्तिको भूमिकाबारे उल्लेख थियो । मैले त्यसबारे स्पष्ट हुन उहाँलाई भने । उहाँले केही बताउनु भएन ।

एयरपोर्टबाट होटल पुग्दा माधव नेपालजीको फोन आयो । र उहाँले पनि त्यही कुरा दोहोर्याउनु भयो । मैले भरपर्दो शक्ति जस्तो अमूर्त शब्द राखेर आफूले सम्झौतामा हस्ताक्षर गर्न नसक्‍ने बताएपछि माधवजीले उहाँहरु सबैले हस्ताक्षर गरिसकेको र अब पत्रकार सम्मेलनमा जाने तयारी गरिरहेको बताउनुभयो । त्यसमा हस्ताक्षर नगरे गठबन्धनबाट बाहिर आउनुपर्ने अवस्था थियो । बाहिर बसेपछि भित्रको कुरा पनि थाहा नपाउने भयौं हामीले ।

तर, पत्रकार सम्मेलनमार्फत सबै कुरा थाहा भएपछि तत्कालै त्यसको विरोध गर्न थाल्यौँ । दैलेख, नेपालगञ्जलगायतका ठाउँमा विरोधसभा गर्‍यौं । त्यसपछि काठमाडौंमा बैठक भयो । सद्भावना दलको कार्यालयमा भएको पहिलो सर्वदलीय बैठकमा सम्झौतालाई लिएर हरेक पार्टी टुक्रिए । तपाईंले त्यसो गर्न हुन्थेन भनेर गिरिजाबाबुले भन्‍नुभयो मलाई । पहिले छलफलबिना नै त्यसो गरिएकाले हामीले विरोध गरेको भन्यौं । अहिले पनि हाम्रो विरोध कायम छ ।

१२ बुँदेले त संविधान निर्माणमा मार्गनिर्देशन सिद्धान्तकै हैसियत पाउँदा त्यसले भारतलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने वैधानिकता दिएको छैन र ?

त्यो भन्‍ने ठाउँ छ । किनभने पछि भारतको परराष्ट्रमन्त्रीले १२ बुँदे हामीले तयार गरिदिएको हो भन्‍नुभयो । यो सम्झौतापछि जोडिएको प्रसंगमा एउटा घटना सुनाउँछु । नागरिकताको मामिलामा हामीले विरोध गर्‍यौं । यसमा सही गरेपछि देश जान्छ है पनि भन्यौ । तर भारतीय दूतावासले गाली गर्यो भनेर शेरबहादुर देउवाले नागरिकता विधेयकमा हस्ताक्षर गरिदिनुभयो । अन्तमा हामीले यो विचारसँग हामी सहमत छैनौँ भनेर नोट अफ डिसेन्ट लेख्‍नै पर्‍यो। त्यही कुरा हामीले धमाधम बाहिर पनि ल्यायौं ।

काठमाडौंमा हाम्रो संगठन राम्रो भएको भए हामी केही गर्थ्यौ । सारा जनतालाई उठाउने कोसिस गर्थ्यौ यसको विरोधमा। तर उल्टो सबै मिलेर हाम्रो पार्टीलाई नै छिन्‍नभिन्‍न बनाउने काम भयो । विचलित नभई एक्लै भएपनि हामीले संघर्षलाई निरन्तरता दिन्छौँ भनेर अघि बढ्यौँ ।

भारतले हामीलाई विरोध गरेको र संसदमा उपद्रो मच्चाएको आरोप लगायो । तर त्यहाँको संसदमा सबैभन्दा धेरै उपद्रो मच्चिन्छ । हामीलाई कमजोर पार्न थ्रेस होल्ड ल्याउने भनियो । त्यसले हामीलाई रोक्न सक्दैन । राष्ट्रिय पार्टी होइन भनेर के आधारमा भन्‍ने ? विचार र उद्देश्यले राष्ट्रिय बन्‍ने हो, संख्याले होइन । हरेक राजनीतिक पार्टीले आफ्नो आफ्नो विचार प्रकट गर्ने अधिकार राख्छ । यदि जातीय वा भाषाको आधारमा पार्टी बन्छ भने ती क्षेत्रीय पार्टी हुन् ।

घोषणापत्रअनुसार सरकारमा गएपछि काम गर्नुपर्छ । त्यो नगर्ने पार्टीलाई स्वीकृति नै दिनुहुन्न । त्यसलाई निर्वाचन आयोगले मान्यता दिनुहुन्‍न । हरेक राजनीतिक पार्टी एउटा वर्गका आधारमा, एउटा दर्शनका आधारमा, एउटा आदर्श समाज निर्माण गर्न बनेको हुन्छ । जातको कुरा गरेर, भोज खुवाएर, भाषाको कुरा गरेर मत लिन्छन् भने ती पार्टीलाई राष्ट्रिय पार्टी भन्‍न मिल्दैन ।

यो निर्वाचनपछि के हामीले संक्रमण अन्त्य भएको मान्‍न मिल्छ ?

यो संक्रमण कहिल्यै पनि टुंगिदैन । यी पार्टीले अब संक्रमण टुंगियो भन्लान् । तर, समस्या त बाकी रहने छ । चुनाव गरेपछि सायद तीन पार्टीको बहुमत हुने छैन । या तीनै पार्टीको पनि सरकार हुन सक्छ । फेरि नेपाली कांग्रेस र माओवादीको पनि सरकार हुन सक्छ ।

शान्तिप्रक्रियालाई छोडेर राजनीतिक संक्रमणको अन्त्य हुन्छ या सँगसँगै लिएर जानु आवश्यक हुन्छ ?

अब यो भाषामा मात्रै त्यस्तो छ । अब संयुक्त सरकारमा हामी सबै जानुपर्छ भन्‍ने अर्थमा लिइएको छ । आफू सरकारमा नभएपछि शान्तिप्रक्रिया टुंगिन बाँकी छ भन्छन् । फेरि सरकारमा गएपछि छैन भन्छन् यस्तै हो । त्यो पनि आफूले बनाएको होइन । अरुले एउटा ढंग र उद्देश्यबाट बनाएको हो । अनि हाम्रा नेताहरु एउटा उद्देश्यका साथ आन्दोलनमा आए। अब साँच्‍चै भन्‍ने हो भने माओवादीका निम्ति त्यो त सत्तामा जाने सिँढीमात्रै हो ।

रामवरण यादवले आफू राष्ट्रपति हुँदा त्यसको महत्वपूर्ण श्रेय यहाँलाई दिनुभएको छ । अहिले दमननाथ ढुंगाना यहाँको समर्थन पाउने आशमा भक्तपुरमा उठ्नुभएको छ ।रामवरण यादवलाई राष्ट्रपति बनाउने कुरा मलाई थाहा थिएन । नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गर्ने दिन नेपालका लागि भारतीय राजदूत राकेश सुदले रामराजा सिंहलाई ‘अब आपके कन्धेपर बहुत बडा जिम्मेवारी आनेवाला है’ भनेको कुरा अर्को साथीले ठ्याक्कै मलाई सुनाए । त्यसको केहीबेरमा सभामुख र म दायाबाँया र गिरिजाबाबुलाई पत्रकारले घेरिहाले ।

म कसैसँग डराउँदिन, भारतसँग पनि डराउँदिन भन्दै उहाँ कड्किनु भयो । राष्ट्रपति नै बेचिएको रहेछ । त्यसमा शब्द त त्यस्तो आएको थिएन । त्यसको विरोधमा नेपाली कांग्रेसले रामवरण यादवलाई अघि सारेको रहेछ । रामराजा पनि पछि मकहाँ आउनुभयो । त्यत्ति गम्भीर निर्णय कसरी लिनुभयो भनी मैले सोध्दा साथीहरूले निर्णय गरेछन् भन्‍नु भयो । मैले यस्तो हल्कासँग भएको निर्णयलाई मान्‍न नसक्‍ने बताएपछि उहाँ निराश फर्कनुभयो ।

जहाँसम्म दमनजीको कुरा छ । उहाँ यहाँ आउनु भयो । दुई नम्बरमा पनि हाम्रो राम्रो संगठन छ । त्यही भएर मैले सहयोग गर्न सक्दिनँ भने । मैलै हामीलाई नआउने भोट लिनुहोस् भनेँ । त्यहाँको भोट जातीय भोट छ । त्यहाँ क्षेत्री, ब्राह्मण र वौद्धिक वर्गको भोट तपाईंले पाउनुहोला भनिदिएँ । जुन भोट हामीलाई आउने छैन पनि भनिदिएँ । त्यहाँ एमालेका उम्मेदवारलाई गुण्डागर्दीको आरोप छ । जनताले मन पराउँदैनन् । तर संस्थागतरुपमा म सहयोग गर्न सक्दिनँ भनिदिए ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार