पाण्डव शर्मा, घोराही ।

माअाेवादी केन्द्रका नेता कुलप्रसाद केसी  ‘सोनाम’ ले पाँच नं प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउनुपर्ने बताएका छन् ।

सोनामले माओवादी केन्द्रको पाँच नं प्रदेशको वुटवलमा सम्पन्न पछिल्लो बैठकले पाँच नं प्रदेशको मुख्यमन्त्री हुने गरी आँफूलाई प्रदेश सभामा उम्मेदवार बनाएको समेत खुलाशा गरे । ‘वुटवलको बैठकले मलाई पाँच नं प्रदेशको नेतृत्व गर्ने गरी प्रदेश सभामा पठाएको हो,’ सोनामले भने, ‘मतगणना सकिए लगत्तै हामीले पार्टीबाट संसदीय दलको नेता चयन गरेर आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’

देश व्यापी एमालेसँग गठबन्धन भएकाले सबै प्रदेशमा दुई पार्टीबीच सहमती कायम गरेर मुख्यमन्त्री चयन हुने उनले बताए । पाँच नं प्रदेशमा माओवादी जनयुद्धको आधार क्षेत्र रोल्पा, रुकुम लगायतका जिल्ला पर्ने भएकाले यो प्रदेशको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने सोनामको भनाई छ ।

‘एमालेका साथीहरुले अन्य प्रदेशमा मुख्यमन्त्री लिनुहुन्छ, यो प्रदेश माओवादीको प्रमुख आधार क्षेत्र हो, हामीले नेतृत्व लिन्छौं’ सोनामले भने ।

निर्वाचनको बेलामा तपाईकै पार्टीका नेताहरुले शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउने भनि सहमती भइसकेको छ भनेर अभिव्यक्ति दिनुभएको थियो नि ? भन्ने प्रश्नमा सोनामले भने, ‘निर्वाचनका बेला दाङमा त्यो प्रचार गर्नु स्वभाविक हो, हामीले रोल्पामा प्रचार गर्दा मलाई मुख्यमन्त्रीको रुपमा अघि सारेका थियौं, यो विषयमा अहिलेसम्म दुई पार्टी बीच कुनै लिखित सहमती भएको छैन ।’

सोना माओवादी केन्द्रका प्रभावशाली नेता भध्ये एक हुन् । २०६३ सालमा माओवादी शान्तिवार्तामा आउँदा तत्कालिन पार्टीले नेत्रविक्रम चन्द ‘विप्लप’, कुलप्रसाद केसी ‘सोनाम’ लगायतका प्रभावशाली नेताहरुलाई संसदीय मोर्चामा नगएर सांगठनिक मोर्चामा खटाउने निर्णय गरेको थियो ।

सिस्ने अनलाइनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार