जानकी दहित / दाङ
नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले आफ्ना गिरफ्तार परेका नेताकार्यकर्तालाई षड्यन्त्र र झुट्ठा मुद्दामा फसाउने प्रपञ्च गरिएकोप्रति आपत्ति जनाएको छ ।
ब्युरो इन्चार्ज सुवासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार अाफ्ना नेता कार्यकर्ता रिहाइ नगरिए पार्टी, जनसत्ता र जनअदालतले नयाँ निर्णय गर्न बाध्य हुने बताएका छन्।
‘साम्राज्यवादी तथा दलाल संसदवादीहरुको विदेशीको डिजाइनमा देशमा नयाँ दलाल चुन्नको लागि भएको चुनाव भन्दा अघि र चुनाव सेरोफेरोमा शान्तिपूर्ण अभियानमा रहेका हाम्रा नेताकार्यकर्तालाई युद्धशैलीमा गिरफ्तार गरि यातना दिइएको छ’ व्युराे इनचार्ज सुवासद्धारा जारी विज्ञेप्तीमा भनिएकाे छ ।
व्युराे इन्चार्ज सुवासद्धारा जारी विज्ञेप्तीअनुसार प्युठानकाे हिरासतमा मोहन पुन, पदमसिंह पुन, रेशम सुनार, निराजन केसी, जुद्ध भण्डारी, कर्णबहादुर बुढा, नमबहादुर थापाहरू अझै रहेकाे जानकारी गरिएकाे छ ।
त्यसैगरी रोल्पामा सन्तोष सुवेदी ‘प्रयास’, बसन्त प्रचण्ड सेन, श्याम घर्ति, रामबहादुर घर्ति, पौरख शाही (जाजरकोट) रहेकाे र दाङमा हेमन्तराज जिसी, जनक विक, अनिल केसी, आरके पाण्डे, रामा चौधरी, मनोज केसी, अमर खड्कालगायतका नेताकार्यकर्ताहरु प्रहरी हिरासतमा रहेका छन् ।
उनीहरूलाई तुरुन्त विना सर्त रिहाइ गर्न व्युराे इन्चार्ज सुवासले विज्ञेप्तीमार्फत अाग्रह गरेका छन् ।







