
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मत नखसेको बताएका छन् ।
सिंगो राज्य र उसका सम्पूर्ण शक्ति लगाउदा पनि यो निर्वाचनमा निर्वाचन आयोगले ६५ प्रतिशत भनेर मिडियाबाजी गर्नुमा ठूलो जालझेल रहेको भन्दै नेता सुदर्शनले यो चुनावको कुनै अर्थ नरहेको बताए ।
नेकपा निकट रातोखबर साप्ताहिकसँगको अन्तर्वार्तामा नेता सुदर्शनले यस्तो बताएका हुन् ।
४० लाखभन्दा बढी युवा मतदाताहरु खाडीमा जानु र अरु कयौं युवा विदेशमा भएको बेला राज्यले ६५ प्रतिशत मत खस्यो भनेर प्रचार गर्नुमा त्यो सक्कली नभएर फर्जी मत भएको नेकपा नेता सुदर्शनको दाबी रहेको छ ।
यो निर्वाचनमा नेपाली जनताले आफ्नो पार्टीको आव्हानमा स्वतस्फुर्त रुपमा घनिभूत संघर्ष गरेको नेता सुदर्शनले बताए ।
नेता सुदर्शनले अन्तर्वार्तामा भनेका छन् –
सरकारले निकै ठूलो जोरजुलुम गर्दा पनि ४० प्रतिशतभन्दा बढी मतदान हुन सकेको छैन । जसरी ६५ र ७५ प्रतिशतको कुरा गरियो, त्यो बनावटी हो भन्ने कुरा स्पष्ट भएको छ । ४० लाखभन्दा बढी युवा मतदाता रोजगारका लागि विदेशिएका छन् । हजारौं जनता भूकम्पपीडित क्षेत्रमा सिकर्मी र डकर्मी काम गरिरहेका छन् जो मतदानको लागि आफ्नो क्षेत्रमा फर्केका छैनन्, त्यस्तै अस्थायी रुपमा कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । यो कुरा हामीले प्रत्यक्ष देखेका छाँै ।
उम्मेदवारहरुले ठूला शहरमा रहेका मानिसहरुलाई भाडाको व्यवस्था गर्दा पनि सबै गएका छैनन् र हाम्रो पार्टीको आह्वानमा ३० प्रतिशत भन्दा बढी जनताले चुनावमा भाग लिएका छैनन् । सरकारले निर्वाचन आयोगमार्फत् मतदानको जुन तथ्यांक प्रस्तुत गरेको छ त्यसमा उम्मेदवारको मतदान केन्द्र कब्जालाई जोडिएको छ । एउटा व्यक्तिले ६० पटकसम्म मतपत्रमा छाप लगाउने, मरेका, विदेश गएका, महिला र अशक्त वृद्धवृद्धाहरुको नाममा समेत अर्कोले मतदान गरेको कुरालाई पनि जोडिएको छ । त्यसो त राजधानी नजिकै एउटा वुथमा ९९.६ प्रतिशत मत खसालिएको छ ।







