शान्ति प्रक्रिया सुरु भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बजारमा डेरा लिए। त्यही घरमा माओवादीका तत्कालिन नेता डा. बाबुराम भट्टराई पनि सँगै बस्थे। केही समय पछि भट्टराई शान्ति नगरमा डेरा सरे।

प्रचण्ड खुमलटार डेरा घर ।

नयाँ बजारको सिंगो घरमा दाहाल बस्न थाले। समयक्रमले उक्त डेरा पनि उनलाई साँघुरो भयो। त्यहाँ उनले दुईवटा घर लिएका थिए। एउटा घरमा सुरक्षामा खटिएका ‘जनमुक्ति सेना’ बस्थे भने अर्कोमा दाहाल। त्यहाँ पार्किंङको समस्या देखियो। उनले नयाँ डेराको खोजी गरे। दाहाल नयाँ बजारबाट लाजिम्पाट सरे। अाजकाे नागरिकले लेखेकाे छ ।

सभामुख, प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी आवास नजिकै उनको निजी निवास थियो। पार्किङ, सुरक्षाकर्मी बस्ने आवास र करेसाबारी सहितको लाजिम्पाटको डेराबाट दाहाल फेरि ललितपुरको खुमलटारमा डेरा सरेका छन्। दाहाल स्रोतका अनुसार यसपटक पनि पार्किङको समस्याका कारण उनी डेरा सरेका छन्। ‘निवासमा आउने पाहुनाहरूको लागि पार्किङको असुविधा भएकोले उहाँ डेरा सर्नु भएको हो’, निवास स्रोतले भन्यो, ‘खुमलटारको डेरामा पार्किङको लागि प्रशस्त खुला ठाउँ छ।’

लाजिम्पाटमा रहेकाे प्रचण्ड डेरा ।

लाजिम्पाट स्थित डेराबाट आवश्यक अधिकांश सामानहरू सारिइसकेको छ भने केही सामान सार्ने क्रममा छन्। दाहाल परिवारले नयाँ निवासमा एक रात बिताइसकेका छन्। लाजिम्पाट स्थित निवासका सामान खुमलटार सारेपछि र आवश्यक व्यवस्थापन पछि दाहालको सबै सचिवालय सहितको टिम खुमलटार रहने छ।

शान्ति प्रक्रिया सुरु भएपछि यो उनको तेस्रो डेरा हो। ‘

जनयुद्ध’ को समयमा पनि दाहाल बारम्बार डेरा सरिराख्थे। सुरक्षाको कारण देखाउँदै दाहालले भारतका विभिन्न स्थानमा डेरा लिए। दिल्लीमा सुरुमा नोएडा सेक्टर ८ मा बसे त्यसपछि नोएडाकै सेक्टर ३४ मा। यसरी नै उनले प्रवासमा डेरा सरिरहे । डेरा खोज्ने जिम्मा माओवादीको प्रवास विभागका जिम्मेवार नेताहरूलाई पार्टीले दिने गर्थ्यो। भारतमा माओवादी नेताहरू पक्राउ पर्न थालेपछि दाहाल पञ्जावको जालन्धरसम्म डेरा सरेका थिए।

दाहालले दिल्ली र हरियाणाको सीमानामा पर्ने वदरपुर बर्डरमा समेत डेरा लिए। ‘जनयुद्ध’ को समयमा लामो समय एउटै डेरामा लामो समय बस्दा पक्राउ पर्ने खतराका कारण बारम्बार नेताहरूले डेरा परिवर्तन गरिरहने पुराना एक माओवादी नेताले बताए। यस्तै दिल्लीको थानपुरमा समेत दाहालको डेरा थियो। पिरागढी र रोहिणीमा समेत उनले भूमिगत मुख्यालय बनाए।

भारत पछि नेपालमा उनले रोल्पामा समेत केही समय अस्थायी डेरामा बसे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार