प्रत्यक्षमा चुनाव लड्दा पराजय हुने डरले समानुपतिकबाट सांसद बन्ने दाउमा रहेका केही नेता यसपटक हिस्स परेका छन् । समानुपातिकमा तीन प्रतिसतको सीमा (थ्रेसहोल्ड) लागेपछि केही पुराना नेता र सदावहार सांसदहरु यसपटक छुट्ने भएका छन् ।

संविधानसभाका दुईवटै चुनावमा समानुपातिकबाट संसदमा पुगेका नेकपा मालेका महासचिव सीपी मैनाली यसपटक सांसद बन्न पाउने छैनन् । पत्नी नीलम खड्का सहित समानुपतिकमा बसेका मैनालीको पार्टीले ४१ हजार २ सय ७० भोट पाएको छ । दोस्रो संविधानसभाको कार्यकालमा मैनाली उपप्रधानमन्त्री बनेका थिए ।

विगतमा पटक पटक प्रत्यक्षमा चुनाव लडेर २०७० सालको चुनावमा समानुपातिकबाट सांसद बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि यसपटक संसदमा छुट्ने छन् । प्रत्यक्षमा प्युठानबाट एक र प्रदेश सभामा बाग्लुङबाट एकसीट जितेको राजमोले ६२ हजार १ सय ३३ भोट पाएको छ । समानुपातिकको बन्द सूचीमा केसीको नाम एक नम्बरमा थियो । उमेर र स्वास्थ्यका कारण केसीले प्रत्यक्षमा चुनाव नलडेको बताएका थिए ।

पहिलो संविधानसभामा समानुपातिक तर्फबाट आएका डा प्रकाशचन्द्र लोहनीको पनि समानुपातिकबाट सांसद बन्ने सम्भावना सकिएको छ । कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएर एकीकृत राप्रपा राष्ट्रवादी गठन गरेका लोहनीको पार्टीले २८ हजार ८ सय ३५ भोट पाएको छ ।

आयातआकार भित्रको हलो चुनाव चिन्ह पाएको लोहनीको पार्टीले देशव्यापी रुपमा प्रचार गरेको थियो ।

संविधानसभाका दुईवटै चुनावमा समानुपातिकबाट सांसद बनेका विश्वेन्द्र पासवान पनि यसपटक चिप्लिएका छन् । बहुजन शक्ति पार्टीले यसपटक मात्र १५ हजार भोट पाएको छ । यसअघि विश्वेन्द्रको पार्टीले पहिलो संविधानसभा चुनावमा एक र दोस्रो संविधानसभामा दुई सीट जितेको थियो । केपी ओली सरकारमा पासवान मन्त्री बनेका थिए ।

दुईवटै संविधानसभा चुनावमा एक–एक सीट जितेको नेपाली जनता दलले यसपटक मात्र २२ हजार भोट पाएको छ । नेपाली जनता दलको तर्फबाट पहिलो संविधानसभामा गायत्री शाह र दोस्रो संविधानसभा चुनावमा हरिचरण शाह सांसद बनेका थिए ।

पहिलो र दोस्रो संविधानसभा चुनावमा दुइवटा सांसद जितेको जनमुक्ति पार्टीले यसपटक ३३ हजार ९१ भोट पायो । यस्तै दुइवटै संविधानसभामा एक सीट पाएको नेपाः राष्ट्रिय पार्टीको हैसियत खस्किएको छ । उसले जम्मा ३ हजार ४ सय ६० मत पाएको छ ।

यी साना दलले संसदमा थ्रेसहोल्डको बिरोध गरेका थिए ।

लाेकान्तरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार