रासस
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ ।
आज साेमबार बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।
वाइसिएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भने, –“प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन तयार छौँ, छिटो पार्टी एकीकरण गर्नुहोस् ।”
पार्टी एकीकरणपछि देशको विकास र समृद्धिका लागि आफूहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिबद्धता पदाधिकारीले व्यक्त गरेका छन् ।
त्यस अवसरमा अध्यक्ष ओलीले भने, –“पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन म आग्रह गर्छु ।”
आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरेको भन्दै ओलीले आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए
युवालाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन पनि ओलीले सुझाव दिएका थिए ।







