अनलाइनडबली संवाददाता ।

माओवादी केन्द्रका वरिष्ठ नेता गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डले सर्वहारा वर्गलाई छोडेर सम्भ्रान्त वर्गको नेता बन्न पुगेकाे भन्दै माअाेवादीलार्इ पुनर्गठन गर्ने भएका छन्।

नेकपा एमालेसँग पार्टी एकताले माओवाद र पहिचानको मुद्दा गुम्ने बताउँदै आएका नेता किरातीले प्रचण्ड सर्वहारा वर्गको नेता बन्ने अझै झिनो आश बाँकी रहेको बताएका छन् । नेता किरातीले अनलाइ डबलीसँग कुरा गर्दै माओवाद र पहिचान विरोधी एमालेसँगको एकताले सर्वहारा वर्गलाई धोका हुने बताए ।

आफैले माओवाद र पहिचानका मुद्दाको रक्षाको लागि महाधिवेशनको माग गरेको बताउँदै किरातीले सुनुवाई नभए वैचारिक समूह निर्माण गठन गर्ने बताए । “एमाले माओवाद र पहिचान विरोधी, दलालहरुको समूह हो, एमालेसँगको एकताले सर्वहारा वर्गमाथिको गद्दारी हुन्छ । हामी माओवादी पार्टीलाई पुर्नगठनको अभियान चलाउने छौं । त्यसको लागि विचार समूह निर्माणको पहल थालेका छौं” किरातीले बुधाबार अनलाइन डबलीसँग भने ।

माओवादी केन्द्रको कार्यालय सदस्य समेत रहेका नेता किरातीले गत असोज १६ गतेको बैठकमै एमालेसँग एकता गर्ने प्रस्तावको विरोध गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग एकता गर्ने प्रस्ताव राखेका थिए । चुनाव सकिए लगत्तै मंसिर २२ गते लिखित रुपमा महाधिवेशको माग समेत गरेका छन् ।

नेता किरातीले गणतन्त्र स्थापनासम्म प्रचण्डको भूमिका ठिकै भएपनि त्यसयता सर्वहारा वर्गलाई त्यागी सकेको बताए ।  “नेपालमा गणतन्त्र स्थापनासम्म प्रचण्डको भूमिकालाई सम्मान गर्नुपर्छ तर अहिले उहाँ सम्भ्रान्त वर्गको पक्षमा गइसक्नुभएको छ, अब उहाँप्रति सम्मान छैन” उनले भने ।

अहिले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरु निकै पीडामा रहेको बताउँदै किरातीले अब प्रचण्डको विरोध गर्नुको अर्थ नभएको बताए । उनले प्रचण्डले क्रान्तिको भारी बोक्न नसकेर एमालेमा विलय हुन लागेको आरोप लगाए । “हामीले त प्रचण्डले सर्वहारा वर्गको नेतृत्व गर्नुहोला भन्ने आशा गरेका थियौं, अब त्यो सकियो । उहाँले क्रान्तिको बोझ बोक्न नसकेरै एमालेमा जान खोज्नुभयो, सक्नेले पार्टी पर्नुगठन गर्नुपर्छ” किरातीले कुराकानीको क्रममा भने ।

आँखा फुटाएर एमालेमा जाने लागेकोले प्रचण्डले क्रान्तिकारीहरुले सिक्न केही बाँकी नरहेको छ । एमालेसँगको एकताले नेपालमा प्रतिक्रान्ति हुने बताउँदै नेता किरातीले क्रान्तिको नेतृत्व गरेका प्रचण्डले नै प्रतिक्रान्तिको पनि नेतृत्व गरेको देख्दा आफूलाई निकै पीडाबोध भएको बताए ।

उनले एमालेसँगको एकता छलछाम र षड्यन्त्रपूर्ण रहेको समेत दाबी गर्दै अाफू एमालेसँग विलय हुन नजाने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार