स्टालिन हत्याको १२८ औं जन्मजयन्तीकाे अवसरमा  ‘स्टालिनका ५ महान उपलब्धिहरू र सर्वहारा वर्गको निम्ति यसका पाठहरू’ शीर्षकमा लिखित लेखको भावानुवाद दुर्लभ लेख प्रकाशित गरेका छाैं।

१) स्टालिनले समाजवादी अर्थतन्त्रको निर्माणलाई नेतृत्व प्रदान गर्नुभयो।

२) सोभियत सङ्घको विरुद्धमा रहेका साम्राज्यवादीहरूको ‘संयुक्त मोर्चा’ मा सफलतापूर्वक विभाजन ल्याइदिनुभयो।

३) उहाँले संसारलाई फासीवादबाट मुक्त पार्नुभयो र जापानी साम्राज्यवादलाई घुँडा टेकाउनुभयो।

४) एउटामात्र सिङ्गो देशबाट मानव जातिको एकतिहाइ भागलाई समेट्दै समाजवादी शिविरको विस्तार गर्नुभयो र

५) उहाँले संयुक्त राज्य अमेरिकी काला जातिको मुक्ति आन्दोलनलाई निकै विस्तार गर्न सहयोग प्रदान गर्नुभयो।

यी पाँच महान उपलब्धिहरू विवादरहित भएकोमा कुनै शङ्का छैन। संशोधनवादी, प्रतिक्रियावादी र साम्राज्यवादीहरूले यी उपलब्धिहरूको विरोध गर्नु स्वाभाविक छ। सच्चा कम्युनिष्टहरूले सदैव यी उपलब्धिहरूको समर्थन गर्दछन्। युगोस्लाभियामाथि आक्रमण, बोल्शेभिक पार्टीमा शुद्धीकरण, कोमिन्टर्नमा स्टालिनको प्रत्यक्ष नेतृत्व र सोभियत सङ्घमा साम्यवादतर्फ उन्मुख समाजवादी क्रान्ति र निर्माणको बेला स्टालिनले थुप्रै निरपराध कामरेडहरूको हत्या गरेको अपराधलगायत व्यावहारिक र सैद्धान्तिक विभिन्न ठूल्ठूला विरामहरू गरेको भन्ने बढाइ–चढाइ गरेको वाहियात मूल्याङ्कन, बङ्गयाइएका तथ्य–तथ्याङ्क र भ्रमहरू हटाउनलाई यो लेख निकै सहायक सिद्ध भएको छ।

विश्वभरिकै कम्युनिष्ट पार्टीहरूका र स्वतन्त्र प्रगतिशील पाठक, लेखक कार्यकर्ता र नेताहरूले पढ्नैपर्ने लेख हो। यो लेखले जबरजस्ती कलङ्कित पारिएको स्टालिनको छविलाई उजिल्याएको छ। म लेखक महोदय अरलेन ट्रासे र ‘नर्थ स्टार कम्पास’ लाई आभार प्रकट गर्दछु।
यहाँ म यस लेखमा अरलेन ट्रासले अघि सार्नुभएका केही विचारको भनाइबारे छलफल गर्ने जमर्को गर्दैछु। त्यस लेखको ‘हिटलरपन्थी फासीवाद र जापानी साम्राज्यवादको पराजय भन्ने उपशीर्षकको दोस्रो परिच्छेदमा ‘चीनका कम्युनिष्टहरू नै जापानलाई पराजित गर्ने प्रमुख शक्तिहरू थिए। संसारभरिका यी कम्युनिष्ट क्रान्तिकारीहरूको स्टालिन र सोभियत सङ्घको कम्युनिष्ट पार्टीको निर्देशन प्राप्त गरेका थिए।’ भन्ने वाक्यांश उल्लेख गरिएका छन्।

कतिपय अवस्थामा यो भनाइ सही हुँदाहुँदै पनि यसले ‘कोरियाली जन क्रान्तिकारी सेना’ को सशक्त भूमिकालाई उल्लेख गरेको छैन र यसबाट के अर्थ्याउन सकिन्छ भने कतै अरलेन ट्रासेजी एकताका अविकसित र सानो देशको भूमिकालाई गौण ठान्ने प्रवृत्तिबाट प्रभावित त हुनुहुन्न? त्यसो भएर माथिको त्यस भनाइमा ‘चिनियाँ कम्युनिष्टहरू, कोरियाली कम्युनिष्टहरूको सशक्त भूमिका ‘लय कोरिया, चीन र रुस संलग्न ‘अन्तर्राष्ट्रिय गठबन्धन सेना’ नै जापानी साम्राज्यवादलाई पराजय गर्ने प्रेरक शक्तिहरू हुन्’ भन्ने वाक्यांश जोड्नुपर्ने देखिन्छ।

‘समाजवादी शिविरको विस्तार’ उपशीर्षकको चौथो परिच्छेदमा लेखिएको छ– स्टालिनबाट किम इल सङ्गले व्यक्तिगत निर्देशन र प्रशिक्षण प्राप्त गरे तथा कोरिया प्रायः द्वीपको उत्तरको आधा भागबाट संयुक्त राज्य अमेरिकी सेनालाई धपाएर छिट्टै नै यहाँको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (प्रजातान्त्रिक कोरिया) को नेतृत्व गर्नुभयो। कुनै देश सानो वा ठूलो, विकसित र अविकसित हुनसक्छ। तर प्रत्येक देशको सार्वभौमसत्ता समान हुन्छ। कुनै एउटा देशको नेताले अर्काे देशको नेतालाई व्यक्तिगत निर्देशन दिनसक्दैनन्। एउटा देशको नेताले अर्काे देशको नेताको निर्देशन पालना गर्नसक्दैनन्। एक अर्काको अनुभव साटासाट गर्नु र एक अर्काेबाट सिक्नु अर्कै कुरा हो। माओ र किम इल सङ्गभन्दा स्टालिन उमेर, अनुभव, सिद्धान्त र कृति लेखनमा ज्येष्ठ हुनुहुन्थ्यो। स्टालिनले कहिल्यै किम इल सङ्गलाई व्यक्तिगत निर्देशन दिनुभएका थिएन।

माओ र किम इल सङ्गले स्टालिनका अनुभव, उपलब्धि र रचनाहरूबाट थुप्रै मूल्यवान कुराहरू सिक्नुभएको थियो। यसलाई निर्देशन दिएको र निर्देशन पालना गरेको भनिंदैन। तसर्थ किम इल सङ्गले स्टालिनका निर्देशनहरू पालना गर्नुभएको भन्न सकिंदैन। धेरैजसो पूर्वी युरोपेली देशहरू सुरुमा कमिन्टर्न सोभियत शिविरको वार्सा सैन्य सङ्गठनमा आबद्ध थिए। पूर्वी युरोपका ती समाजवादी देशहरू सर्वहारा अन्तराष्ट्रवादको भावनामा डुबेर सोभियत सङ्घमाथि अत्यधिक भर परे। ती देशहरूले आ–आफ्नो फरक फरक ऐतिहासिक, आर्थिक, भौगोलिक, सांस्कृतिक आदि विशिष्ट अवस्था र विशेषताअनुरुप आ–आफ्नै ढङ्गको समाजवादी नीति, कार्यदिशा, सिद्धान्तको विकास गरी क्रान्ति र समाजवाद निर्माणमा ध्यान पुर्‍याउन सकेनन्। त्यसैगरी, अति शक्तिशाली सेना र हातहतियार निर्माण गर्न सकिएन। तिनीहरूले हुबहु सोभियत सङ्घको नक्कल गरे। स्टालिनकै पालामा पनि पूर्वी युरोपेली समाजवादी देशहरू र अन्य समाजवादी देशहरूलाई आ–आफ्नै समाजवादी नीति, कार्यदिशा, रणनीति, प्रजातान्त्रिक नेतृत्व प्रणाली विकासलाई उत्प्रेरित गर्ने कार्यलाई राम्ररी ध्यान दिन सकिएन। स्टालिनको हत्यापछि संशोधनवादको नेतृत्वको पूर्वी युरोपेली समाजवादी देशहरूको स्वाधीनतालाई उपेक्षा गर्दै ‘ठूलो राष्ट्र अहङ्कारवाद’ नीति अपनायो। यो अर्काे कुरो भयो।

यहाँ किम सङ्गको संस्मरण ‘यस शताब्दीको साथमा भाग–८, पाना २२२ मा ‘अन्तर्राष्ट्रिय गठबन्धन सेना’ को गठन उपशीर्षकमा लेखिएको किम इल सङ्गका विचार र अनुभव प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ –’आफ्नै प्रयत्नबाट स्वाधीनता प्राप्त गर्नु हाम्रो अपरिवर्तनीय सिद्धान्त हो। त्यसो भए तापनि यसले अन्तर्राष्ट्रिय आपसी सहयोग वा अन्तर्राष्ट्रिय क्रान्तिकारी शक्तिहरूसँगको गठबन्धनलाई बहिष्कार गर्दैन।

खासमा भन्नुपर्दा आफ्नो देशको क्रान्ति र विश्व क्रान्ति दुवैलाई केही हदसम्म फाइदा पुर्‍याउने अन्तराष्ट्रवादलाई हामीले किन विरोध गर्नुपर्ने? डरलाग्दो शत्रु जापानी साम्राज्यवादलाई हराउन हामीले आफ्ना प्रयासहरूलाई संयुक्त रुपले जोड्नुपर्छ। सोभियत सङ्घजस्ता विशाल देशले पनि आवश्यक भएमा अन्य देशहरूबाट सहयोग प्राप्त गर्नुपर्छ। अरु देशहरूबाट सहयोग प्राप्त गर्नु वा आफ्ना क्रान्तिकारी शक्तिहरूसँग गठबन्धनमा गरेर लड्नु चाकडी–चाप्लुसीवाद होइन। मलाई के लाग्छ भने चाकडी–चाप्लुसीवाद भनेको आफ्नो ताकतमाथि विश्वास नगरी अरुहरूबाट मात्र सहयोगको अपेक्षा वा आफ्नो देशको क्रान्तिलाई परित्याग गरेर अन्य देशहरूको क्रान्तिलाई मात्र सघाउनुलाई नै पवित्र अन्तर्राष्ट्रवाद सम्झने एक किसिमको विचारधारात्मक प्रवृत्ति हो।

स्टालिनको व्यक्तिगत निर्देशनमा किम इल सङ्गले कोरिया प्रायः द्वीपको आधा भागबाट संयुक्त राज्य अमेरिकी सेनालाई धपाउनु भएको नभई संयुक्त राज्य अमेरिका, बेलायत र सोभियत सङ्घबीच भएको सम्झौताअनुसार १९४५ मा ३८ औं समानान्तर रेखामा कोरियालाई विभाजन गरी कोरियाको उत्तरी आधा भागमा सोभियत लाल सेना आएको र कोरियाको दक्षिणी आधा भाग जापानी सेनालाई निःशस्त्र पार्ने निहुँमा संयुक्त राज्य अमेरिकी साम्राज्यवादी सेनाले कब्जा गरेको थियो। कोरियाको इतिहासबारे अरलेन ट्रासेजीले अझ गहिरिएर अध्ययन गर्नु हुने नै छ।
‘कोरिया युद्ध’ मा सोभियत सङ्घ, प्रजग कोरिया, पूर्वी युरोप र चीन सबै नै संयुक्त राज्य अमेरिकी साम्राज्यवादीहरूविरुद्ध एक भए। समाजवादी सरकारहरूको तर्फबाट यस्तो एकताबारे एतिहासिक रुपले अज्ञात नै रह्यो। मात्र टिटोको युगोस्लाभियाले कोरिया मुक्ति र आत्मनिर्णयको युद्धले विरोध गर्‍यो भन्ने कुरा छ।

अन्तर्राष्ट्रिय राजनीतिमा संसारकै सबैभन्दा ठूलो देश र फासीवादलाई पराजित गर्ने एक शक्तिशाली राष्ट्रको हैसियतमा त्यसअनुसार नै सोभियत सङ्घको जिम्मेवारी, कर्तव्य, भूमिका र रणनीति हुनु स्वाभाविक थियो। यद्यपि, यहाँ के कुरो उल्लेख गर्नु उपयुक्त हुन्छ भने कोरियाको दक्षिणी आधा भाग बलजफ्ित कब्जा जमाई बसेको अमेरिकी सम्राज्यवादीहरूले संयुक्त राष्ट्र सङ्घको परिषद्को एक शक्तिशाली सदस्य सोभियत सङ्घले त्यस आक्रमणको विरोधमा विशेषाधिकार प्रयोग गर्न सकिनेमा त्यसो गरेन।

‘संयुक्त राज्य अमेरिकाको काला जातिको मुक्ति आन्दोलनलाई सहयोग भन्ने उपशीर्षकको तेस्रो परिच्छेदमा ‘… यदि स्टालिन नभएको भए चीनमा कहिल्यै क्रान्ति हुने थिएन र आज जस्तै विश्व आर्थिक शक्ति हुने थिएन।’ भन्ने बुझाइ उल्लेख भएको छ। उहाँको यो बुझाइ एकपक्षीय भएको देखिन्छ। के प्रश्न गर्नसकिन्छ भने यदि माओ नभएको भए वा क्रान्तिकारी चीन र कोरिया नभएको भए के हुँदो हो? निश्चय पनि सोभियत सङ्घले फासीवादलाई पराजय गर्न नसक्दो हो वा पराजय गर्न निकै गार्‍हो हुँदो हो। तसर्थ ‘माटोलाई ढुङ्गाको भर, ढुङ्गालाई माटोको भर’ भनेझैं आपसी मेल र सहयोगमै सबै कुरा आउँदैन। चीन र कोरियालाई सोभियत सङ्घको साथ समर्थन जति आवश्यक थियो त्यति नै सोभियत सङ्घलाई चीन र कोरिया र विश्वभरिका सर्वहारा, किसान र अन्य क्रान्तिकारीहरूको साथ समर्थनको आवश्यक थियो।

यस सम्बन्धमा १९४० तिरै भाओ त्से तुङ्गले भन्नुभएको थियो – संसारका सबै साम्राज्यवादी शक्तिहरू हाम्रो विरोधमा छन्। हामी चीनको स्वतन्त्रता चाहन्छौं भने समाजवादी देश र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको मद्दतविना हामीले त्यसलाई प्राप्त गर्न गार्‍है पर्ला या सोभियत सङ्घको सहायताविना तथा जापान, बेलायत संरा–अमेरिका, फ्रान्स, इटाली र अरु मुलुकहरूका सर्वहारा वर्गको पूँजीवादविरोधी सङ्घर्षहरूको मद्दत विना चीनले आफ्नो स्वतन्त्रता पाउन सक्नेछैन।’ उहाँले यसबारे अझ अगाडि भन्नुभयो –’ती मुलुकहरूका सर्वहारा वर्गको थप सहायता नभई हामीले विजय पाउन सक्ने छैनौं। खास गरेर चीनको जापानविरोधी लडाइँको अन्तिम विजयको निम्ति सोभियत सङ्घको सहायता एकदमै नभई नहुने कुरा हो। प्रस्ट छ, सोभियत सहायता छैन भने हाम्रो क्रान्तिको विजय पनि छैन।’

‘संयुक्त राज्य अमेरिकाको काला जातिको मुक्ति आन्दोलनलाई सहयोग उपशीर्षकको ८ औं परिच्छेदमा ‘यतिका धेरै आधुनिक मार्क्सवादी–लेनिनवादीहरूले उहाँमाथि गरेको आक्रमण र उहाँको दानवीकरणको सत्यतथ्य त एउटा दुःखद् विपत्ति हो।……. ‘ भन्ने मत जाहेर गरिएको छ।
संशोधनवादीहरूले उहाँमाथि गरेको आक्रमणलाई यतिका धेरै आधुनिक मार्क्सवादी–लेनिनवादीहरूले……’ भन्न मिल्दैन किनभने संशोधनवादीहरू कहिल्यै मार्क्सवादी–लेनिनवादी कम्युनिष्ट हुनसक्दैनन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार