निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा विवाद देखिएको छ ।
‘दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत पार्टी तथा सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विवादमा छन् । एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लचक देखिएका छन् । तर दोस्रो तहका नेता भने आपसमा विवादास्पद अभिव्यक्ति दिइरहेका छन्,’ राजधानीदैनिकले लेखेकाे छ।
ओली दाहाल एकले अर्कालाई नेतृत्व सहजै छोड्नसमेत लचक भए पनि दोस्रो तहका नेताले भने आफ्नै दलबाट नेतृत्व गरिनुपर्ने अभिव्यक्ति दिँदै आएको समाचारमा लेखिएको छ ।
समाचारमा थप लेखिएको छ– एकताको क्रममा आलोपालो नेतृत्व गर्ने, सामुहिक नेतृत्व गर्ने वा एक पार्टीले सरकार र अर्को पार्टीको नेतृत्वमा पार्टी संगठन चलाउने भन्ने विषयमा नै छलफल बढी केन्द्रित बनेको छ । दोस्रो तहका नेताहरु विवादित अभिव्यक्तिमा केन्द्रित भइरहँदा एकताका लागि गठित पार्टी एकता संयोजन समितिको शनिबार बस्ने तय भएको बैठक समेत बस्न सकेन ।
यसैगरी अन्नपूर्ण पोष्ट दैनिकमा लेखिएकाे समाचारअनुसार पार्टी एकतामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड दृढ रहेको समाचार छापेको छ । त्यससँगै प्रचण्डले एमालेले संघीय समाजवादी फोरमसँग तालमेल गरेर सरकार गठन गर्न खोजेको खुलासा समेत गरेको समाचार छ ।
समाचार अनुसार शनिबार नवलपरासीको कावासोतीमा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै प्रचण्डले एमालेले फोरमसँग तालमेल गरेर सरकार गठन गर्न प्रताव राखेको तर फोरम अध्यक्ष उपेन्द्र यादवले नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको बताएका छन् ।







