
पार्टी अध्यक्ष प्रचण्डसहित नेताहरूकाे ठूलाे पंक्ति एमालेसँग अात्मसर्मपण गर्न लागेकाे भन्दै माओवादी केन्द्रभित्र असन्तुष्टि जनाएका नेताहरुले पार्टी पुनर्गठन गर्ने अभियान थालेका छन् ।
माओवादी केन्द्रका प्रभावशाली नेताहरू गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) ले पार्टी एमालेसँग विलय हुन लागेको भन्दै माओवादीको पुनर्गठनमा आफूहरु लाग्ने बताएका हुन् ।
“म माओवादीको पुनर्गठनमा लाग्छु । पार्टीले कम्युनिष्टहरुलाई छोड्दैछ । सच्चा कम्युनिष्टहरु हामी एक ठाउँमा नै रहन्छौं । आहुतीजीलगायत केही युवा साथीहरुसँग कुरा भइरहेको छ,” माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल किराँतीले भनेका छन्।
पार्टी एकताको विषयमा आफूहरुलाई पार्टीका अध्यक्ष प्रचण्डलगायत केही नेताहरुले ढाँटेको आरोपसमेत किरातीले लगाएका छन् । “माओवादी केन्द्रका कैयौ नेताहरु आत्मसमर्पणको तयारीमा छन् । हामी त्यसरी आत्मसमर्पण गर्दैनौं,” किराँतीले भने, “एमालेसँग गठनबन्धन कायम राखे भइहाल्यो, किन लाचार भएर एकतामा हामफाल्न पर्यो भनेर अध्यक्षलगायत केही नेताहरुलाई भनिराखेका छौं।”
एमाले र माओवादी केन्द्रले माओवाद छोडेर समाजवाद स्थापना गर्न नसक्ने दावीसमेत उनले गरे ।
माओवादी केन्द्रका सचिवालय सदस्य विश्वभक्त दुलाल (आहुती)ले पनि पार्टीमा छलफल नै नगरी एकता गर्न लागिएको बताए । उनले भने, “कुनै पनि नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी एकता गर्न खोज्नु कार्यकर्ताको अपमान हो । कार्यकर्तालाई एक रात पनि सोच्न नदिई माथिका दुईचार जना नेताहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन् । यो निर्णय अलोकतान्त्रिक छ ।”
माओवादी नेतृत्व सैद्धान्तिक आधार छोडेर एमालेको लाइनमा हिँडिरहेको आरोपसमेत उनले लगाए ।
“माओवादीले आफूलाई फरक देखाउन विभिन्न सैद्धान्तिक आधारहरु लिँदै आएको थियो । अहिले एमालेसँग एकता गर्ने निर्णय भएदेखि पार्टी पूरै एमालेको लाइनमा हिँडेको छ ।” आहुतीले भने ।
एमालेसँग एकता कम्युनिष्ट आन्दोलनको विसर्जन र पुँजीपति वर्गको लागि भएको पनि उनको तर्क छ ।







