माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा गर्न आज गोरखा गएका श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा यस्ताे बताएका हुन् । “निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम आदेश पनि छ । पार्टी एकताको वाम आदेश । पार्टी एकतालाई छिटोभन्दा छिटो घोषणा गर्ने र एकीकृत पार्टी बन्ने प्रतिबद्धता हाम्रो छ ।” नारायणकाजीले भने ।
सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता भएमा राम्रो हुने भन्दै श्रेष्ठले एकीकृत पार्टीले सञ्चालन गरेको सरकार स्थिर हुने र समृद्धिका लागि काम गर्न सकिने बताए ।
श्रेष्ठले गोरखा क्षेत्र नं २ मा जनताको चयनमा यसपटक माओवादी नपरेको भन्दै मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको बताए । चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहने उनको भनाइ थियो ।
कुनै पनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुने भन्दै श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको बताए ।
काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश प्राप्त भएको उनको भनाइ थियो । रासस







