जनबाटाे संवाददाता, बुटवल ।
नेपालमा संसदीय व्यवस्थाबाट विश्वक्रान्तिका महानायक माओका सपनाहरु पुरा नहुने बुटवलमा आयोजित एक कार्यक्रममा बताएका छन् ।

उनीहरुले माक्र्सवादी लेनिनवादी सिद्धान्तमा कमरेड माओले प्रतिपादन गर्नुभएको सार्वभौम सिद्धान्तलाई नेपालका कम्युनिष्टहरुले अनुसरण गर्नुपर्ने बताए । उनीहरुले साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवाद तथा अवसरवादका विरुद्ध नेपालका क्रान्तिकारी कम्युनिष्टहरु गोलबन्द भई कमरेड माओले प्रतिपादन गरेको निरन्तर क्रान्तिको सिद्धान्तरलाई आत्मसातीकरण गर्न आवश्यक रहेको बताए ।
बुटवलमा मंगलवार चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको १२५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बुद्धिजीवीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, विकास र प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
लेखक एवं माक्र्सवादी चिन्तक दिल साहनीले एमाले–माओवादी केन्द्रको एकता कम्युनिष्ट एकता नभएर दक्षिणपन्थी अवसरवादीहरुको एकता भएको बताए । उनले संसदीय व्यवस्थाबाट नेपाली जनताको आधारभूत समस्याहरु समाधान नहुने भन्दै त्यसका लागि माओले प्रतिपादन गरेको निरन्तर क्रान्तिको सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
माक्र्सवादी विचार मञ्च नेपालका अध्यक्ष युवराज पन्थीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नका लागि माओका योगदानलाई आत्मसातीकरण गर्नु आवश्यक रहेको बताए । राष्ट्रिय जनमोर्चाका नेता सन्तबहादुर नेपालीले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सच्चा कम्युनिष्ट पार्टीहरु वीच सिद्धान्तनिष्ट एकता र धु्रवीकरण जरुरी रहेको बताए ।
नेकपा रुपन्देहीका इन्चार्ज शरद ओलीले संसदीय व्यवस्थाको अर्को नाम भ्रष्टाचार भएको भन्दै यसले नेपाली जनताको समस्या समाधान नहुने भन्दै एकीकृत जनक्रान्तिको माध्यमबाट प्राप्त हुने वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार स्थापित हुने बताए ।
आजको नेपालको सन्दर्भमा माओका योगदानहरुलाई आत्मसात र कार्यान्वयन गर्ने प्रश्न बिषयक कार्यक्रम पुरन गुरुङको अध्यक्षता र बिनबहादुर कुँवरको स्वागतमा सम्पन्न भएको थियो ।







