नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रको एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्नेबारे अहिले कुनै निर्णय नभएको बताएका छन् ।

खनालले पार्टी अध्यक्ष एकता महाधिवेशनपछि मात्र ठोस गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै खनालले अब बन्ने सरकारको नेतृत्व केपी ओलीले गर्ने र आफुले राष्टपतिको पद समाल्ने बताएका छन् ।

पार्टी एकता अघि र पछाडि पनि पार्टी अध्यक्ष दुई जना हुन नसक्ने खनालको भनाई छ ।

खनालसँगको कुराकानीको संक्षिप्त अंश :

केपी ओली र झलनाथ खनालमध्ये को प्रधानमन्त्री ? बताउनुस् न ।
अब केपी कमरेडले तपाई बन्नुस् भन्नुभयो भने म रेडि छु । मैले उहाँलाई तपाई नै बन्नुपर्छ, तपाई नै पार्टी अध्यक्ष हो भनेँ भने उहाँ रेडि हुनुहुन्छ । जो बने पनि एकजना प्रधानमन्त्री बन्ने हो ।

ओली प्रधानमन्त्री बनेको खण्डमा तपाई राष्ट्रपति बन्ने हो ?
मलाई थाहा छैन । मलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने धेरै छन् । सबैलाई मेरो धन्यवाद छ ।

तपाई राष्ट्रपति नबन्ने ?
राष्ट्रपति पनि राम्रो पद हो । मुलुकको सेवाको लागि यो पद पनि उचित छ । त्यस्तो भयो भने राम्रै हुन्छ । केही फरक पर्दैन ।

प्रचण्डलाई पार्टी एकतापछिको अध्यक्ष बनाउन सकिन्छ ?
पार्टी एकीकृत भएपछि एकीकृत पार्टीका कुनै पनि नेता अध्यक्ष बन्न सक्नेछन् । को बन्ने भन्नेमा छलफल गछौँ । एकताको महाधिवेशन नहुँदासम्म संक्रमणको अवस्थामा रहन पनि सक्छौँ । संक्रमणकालका लागि कस्तो मोडल बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

संक्रमणकालका लागि कार्यकारी अध्यक्ष दुईजना बनाउन खोज्नुभएको हो ?
त्यस्तो हुँदैन । अध्यक्ष एक जना नै बनाउने हो । वैचारिक, राजनीतिक आधारमा कसलाई नेता बनाउने भन्नेमा निष्कर्ष निकाल्छौँ ।

पार्टी एकता भएपछि एउटै पार्टीमा ४ जना पूर्वप्रधानमन्त्री हुनेछन् । उचित व्यवस्थापन कसरी गर्नुहुन्छ ?
एमाले सामुहिक नेतृत्वका आधारमा चलेको पार्टी हो । एकतापछि पनि यसैलाई निरन्तरता दिन्छौँ । एकजना व्यक्तिको नेतृत्वमा पार्टी चल्दैन । पदको विषयलाई लिएर पार्टी एकता टुट्दैन । कसैले पनि एकता टुटाउन सक्दैन । पदीय कुराले तलमाथि हुन सक्दैन ।

माओवादीका नेताहरुले त प्रचण्डलाई पार्टी अध्यक्ष नबनाए एकता गर्न सकिदैन भनेका छन् नि ?
पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलको तर्फबाट प्रस्ताव पेश हुन्छ । उक्त प्रस्तावका आधारमा साझा प्रस्ताव तयार गरेर अगाडि बढ्छौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार