नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नाममा कम्युनिस्ट साइनबाेर्ड झुण्डाएका एमाले र माअाेवादी केन्द्र कुनैपनि मानेमा कांग्रेसभन्दा अलग नरहेकाे बताएका छन् ।

उनले कम्युनिष्ट नेताद्वय ओली–प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाबीच कुनै भिन्नता नभएको बताउँदै भने, ‘विश्व कम्युनिष्ट आन्दोलनको इतिहास देश र जनताको सेवा गर्ने हो । व्यक्तिगत स्वार्थ पूरा गर्र्नमा ओली, प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाबीच कुनै भिन्नता छैन ।’

नेमकिपा समर्थित प्राध्यापक समाज नेपालद्वारा शनिबार आयोजित ‘समाजवादी आन्दोलन : विगत र वर्तमान’ विषयक प्रवचन कार्यक्रममा बिजुक्छेले ओली र प्रचण्डले वर्ग संघर्षको बाटो समेत छोडेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चोला फेरेको आरोप लगाएका छन् ।

‘वर्ग संघर्षको बाटो कहिल्यै सरल र सीधा हुँदैन’, अध्यक्ष बिजुक्छेले भने, ‘यसले नागबेली बाटो लिन्छ । त्यसैले हाम्रा ठूला कम्युनिष्ट नेताहरुले पनि नागसरी चोला फेरेर हिँडेका छन् ।

फरक प्रसंगमा अध्यक्ष बिजुक्छेले विश्वमा तेस्रो युद्धको खतरा संकेत गर्दै उत्तर कोरिया र अमेरिकाबीचको द्वन्द्व विश्वभर फेलिने खतरा बढेको बताए ।

‘दक्षिण एसियाभित्रै भारतविरुद्ध साना राष्ट्रहरुले संघर्ष गर्न थालेका छन् । अफगानिस्तानलाई पाकिस्तानविरुद्ध प्रयोग गर्ने भारतको लक्ष्यमा चीन बाधक बन्दै आएको छ’, उनले भने, ‘युरोपमा सधैं द्वन्द्व भइरहेकै छ । शक्ति राष्ट्रले युद्धको तयारी आआफ्नो ढंगले अघि बढाइरहेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार