माओवादी केन्द्रका नेता सुरेन्द्र कुमार कार्की (राम कार्की) जबज र माओवादको औचित्व समाप्त भएर नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

कार्कीले अन्नपूर्ण पत्रिकासँग संक्षिप्त कुरा गर्दै अब नयाँ नीति र कार्यक्रम ल्याएर अघि बढ्नु्पर्ने बताए । नेता कार्कीले जबज र माओवादलाई सन्दर्भ समाग्रीका रुपमा लिएर नयाँ सिद्धान्त प्रतिपादन गरिने बताए ।

माओवादीका सैद्धान्तिक नेताका रुपमा परिचित कार्की समेत सामन्तवाद र औपनिविशेकवाद समाप्त भएको बताउँछन् ।

उनी भन्छन्, ‘राजतन्त्र गयो, समान्तवाद अवेशष मात्र बाँकी छ । मुलुकमा पुँजीवाद आयो, त्यसैले अतितका कुरामा अल्झिन जरुरी छैन ।’ उनले पुँजीवादी जनवादी क्रान्तिको दुई चरण रहेको बताउँदै अहिले मुलुक ‘क्रोनिक क्यापिटलिजम्’ को अवस्थामा रहेको बताए ।

कार्कीले अतितको कुरालाई वर्तमानको सेवामा लगाउनुपर्ने बताए । ‘वर्तमानलाई रोक्ने र अतितमा रुमलिने काम गर्नु हुदैन’, उनले भने । उनले पार्टी एकताको चरणमा रहेकाले तत्कालका कार्यनीति र दीर्घकालिन रुपमा नयाँ रणनीतिका साथ अघि बढ्नु पर्ने बताए ।

जबज र माओवादको विषयमा रुम्मलिन जरुरी नभएको बताउँदै भने, ‘बाजे किन मरे भन्दा पनि नातिले के गर्ने भन्ने कुरामा लागे मात्र ठीक ठाउँमा पुगिन्छ ।’

पार्टीको एकताको विषय नीतिगत कुरामा भन्दा विषयगत कुरामा ध्यान केन्द्रीत भएको कार्कीले बताए । ‘को अध्यक्ष हुने, को प्रधानमन्त्री हुने कुरामा मिडिया लगायत सबैको ध्यान गएको छ’, उनले भने ।

नेता कार्कीले समाजवाद कस्तो हुने भन्ने विषयमा नयाँ बहस जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार