पार्टी एकताका लागि भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले अाफ्ना नेताहरु खटाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल गर्न एमालेका तर्फबाट माधबकुमार नेपाल, बामदेव गौतम र विष्णु पौडेल खटिएका छन् । त्यसैगरी माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा र वर्षमान पुनलाई प्रचण्डले छलफलमा खटिएका छन् ।
दुवै दलका नेताहरुले प्रचण्ड र ओलीलाई उपयुक्त पद दिएर मिलाउने विषयमा छलफल गरिरहेका छन् । तर छलफलले निष्कर्ष निकाल्न सकेको छैन । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीका नेताहरु तयार भए पनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन एमालेका नेताहरु तयार हुन नसक्दा पार्टी एकता प्रक्रिया लम्बिएको बताइएको छ ।
प्रचण्डले भने आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । एमालेले भने ३ वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई अहिले सह अध्यक्ष बन्न आग्रह गरेको छ । पार्टी एकतासँगै अन्य पदको बाँडफाँट पनि छलफलको विषय बनेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसकसलाई बनाउने भन्ने विषयमा पनि कुराकनी भइरहेको छ ।
प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीका नेताहरुको भनाई छ । आइतबार मात्रै पनि माओवादी नेता टोपबहादुर रायमाझीले कसैले जिद्दी गरेमा पार्टी एकता नहुने संकेत गरेका थिए ।
तर एमालेका नेताहरुले भने सबैभन्दा ठूलो दल एमाले भएकाले एकतापछि अध्यक्ष केपी ओली नै हुनुपर्ने अडानमा छन् ।







