नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने,‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । उनले भने,‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन्।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरत राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो ।

धनुषा-४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले अहिले देशी तथा विदेशी शक्तिहरुले ओलीको नेतृत्वमा सरकार बन्नुहुँदैन भनेर षड्यन्त्र सुरु गरेको गम्भिर आरोप लगाए । षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार