नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले सडकमा गएर कांग्रेस नेतृत्व सच्चिनुपर्छ भन्नेहरु गलत भएको बताएका छन् ।

कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गर्दै प्रवक्ता शर्माले पार्टी नेतृत्वको विरोध सडकमा होइन केन्द्रीय समिति बैठकमा गर्नु पर्ने बताएका छन् ।

एक चर्चित दैनिक पत्रिकामा अन्तरवार्ता दिदै शर्माले काग्रेसमा आएको समस्या सबैको उत्तिकै दोष र कमजोरी रहेको भन्दै सबैले आआफ्नो ठाउँमा जिम्मा लिनु पर्ने बताए ।

कांग्रेस रूपान्तरणका मुख्य कार्यसूची केके हुन् त ?

अब चाँडै बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अबको कार्यसूची तय गर्नेछ। त्यसपछि हामी त्यही रोडम्यापमा अगाडि बढ्ने हो, तर निर्वाचन सवालमा हामी निर्वाचन गराउन जति गम्भीर भयौं, निर्वाचन जित्न त्यति गम्भीरतापूर्वक लाग्न सकेनौं। हामी निर्वाचनमा गइरहँदा हाम्रो नेतृत्वलाई पहिल्यै थाहा थियो कि, हामी कमजोर छौं। तर पनि संक्रमणकाल अन्त्य हुन्छ भनेर हामीले निर्वाचन गरायौं। तर हामी जनतासँग संवाद गर्ने सवालमा कमजोर देखियौं। कांग्रेसले गरेका सत्कर्मलाई हामीले प्रचार गर्न सकेनौं।

मुलुक ७५ जिल्लाबाट ७७ जिल्लामा परिणत भयो। सातवटा प्रदेश बने तर हामी हाम्रो पुरानै सांगठनिक संरचनामा कुनै सुधार नगरीकनै चुनावमा गयौं। प्रदेशस्तरीय कमिटी बनाउन सकेनौं। प्रदेशअन्तर्गत दुई प्रदेशस्तरीय समिति बनाउन सकेनौं। पदाधिकारी चयनदेखि सांगठनिक परिचालन सही ढंगले गर्न सकेनौं, जसको प्रतिफल चुनावमा देखियो। अब भने हामीले पार्टीको व्यापक परिर्वतनका कुरा गरिरहेका छौं। तर, मेरो विचारमा केन्द्रदेखि गाउँ तहसम्मैको नेतृत्व शैलीमा व्यापक परिर्वतनको खाँचो छ।

पार्टी प्रवक्ताभन्दा बढी तपाईंको भूमिका कांग्रेस नेतृत्वको बचाउ गर्नेतिर बढी अग्रसर देखिँदैछ। यसले कांग्रेस पुनर्जागरणको आवाज उठाउने पुस्तासँग तपाईंको दूरी बढ्ला भन्ने लाग्दैन ?

प्रवक्ता हुनुअगाडि कांग्रेसमा मैले गम्भीर आत्मसमीक्षाको जरुरी छ भनेको थिएँ। म यसमा अझै अडिग छु। देउवाका कमजोरी औंल्याउने तर उहाँका राम्रा कुराको प्रशंसा नगर्ने गर्नु हुँदैन। पार्टी नेतृत्वको विरोध सडकमा मात्र गरेर हुँदैन, केन्द्रीय कार्यसमितिमा पनि कुरा उठाउनुपर्छ। मैले यसलाई रूपान्तरण प्रक्रियासँग जोडेर हेरेको छु। हामी युवाले खालि बाहिर बसेर गल्ती मात्रै औंल्याउने कि मौका पाएपछि काम पनि गर्ने ? मैले पाएको जिम्मेवारीलाई युवा पुस्ताले पाएको अवसर ठानेको छु। अब कांग्रेसमा पाका, युवा सबैलाई समेटेर अगाडि बढ्नुपर्छ। सबैलाई समेट्नुपर्छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार