इरानले अमेरिकाले आफ्नो न्यायपालिका प्रमुखमाथि प्रतिबन्ध लगाएर ‘लक्ष्मणरेखा पार गरेको’ आरोप लगाएको छ । अमेरिकाले शनिबार अयातुल्लाहा सदिक अमोलि–लारिजानीमाथि नयाँ प्रतिबन्ध लगाएको हो ।
इरानी विदेश मन्त्रालयले उक्त कदमको कडा प्रतिकार गर्ने जनाएको छ । तर उक्त कदम के हुने भन्नेबारे भने मन्त्रलायले प्रस्ट पारेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता अन्तिम एक पटकका प्रतिबन्ध लागू नगर्ने बताएका थिए । तर उनले १४ इरानीमाथि अधिकारको गलत प्रयोग गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका हुन् ।
‘ट्रम्पको शत्रुतापूर्ण कदमले लक्ष्मणरेखा पार गरेको छ । यो अन्तर्राष्ट्रिय कानुनको पनि गम्भीर उल्लंघन हो ।’ विदेश मन्त्रलायले विज्ञप्तिमार्फत भनेको छ, ‘यसको इस्लामिक गणतन्त्रले पक्कै पनि गम्भीर प्रतिक्रियात्मक जवाफ दिनेछ ।’
मन्त्रलायका अनुसार ट्रम्पले ‘इरानी जनातामाथि निरन्तर रूपमा असफल शत्रुतापूर्ण व्यवहार गर्दै आएका’ छन् । यसअघि, इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले वासिङ्टनले सम्झौताको पालना गरे मात्र इरानमाथि पनि सम्झौता पालना गर्न बाध्यात्मक स्थिति पैदा हुने चेतावनी दिएका थिए । ट्रम्पले युरोप र अमेरिकालाई ‘अन्तिम मौका’ दिने बताएका हुन् ।
२०१५ मा इरान र ६ शक्तिराष्ट्रबीच परमाणु सम्झौता भएको थियो । ट्रम्प प्रशासनले युरोपेली देशसँग उक्त सम्झौताविपरीत स्थायी प्रतिबन्धका लागि अनुरोध गर्दै आएको छ । उक्त सम्झौता सन् २०२५ मा सकिँदै छ ।
यसअघि शुक्रबार युरोपेली संघ (ईयू) ले अमेरिकालाई इरानी परमाणु सम्झौता नतोड्न आग्रह गरेको थियो । ईयूले उक्त सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्त्वपूर्ण भएको उल्लेख गरेको थियो । बेलायत, फ्रान्स, जर्मनीलगायत युरोपेली संघका सदस्य राष्ट्रले इरानसँगको परमाणु सम्झौताप्रति समर्थन दोहोर्याउँदै आएका छन् ।
युरोपेली संघकी विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले शुक्रबार उक्त सम्झौता सकारात्मक नतिजा ल्याइरहेको दाबी गरेकी थिइन् । उक्त सम्झौताअनुुसार आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएपछि इरानमाथिका प्रतिबन्ध हटाइएका थिए ।







