प्रधानन्यायाधीश गाेपाल पराजुलीको व्यक्तिगत एवं पारिवारिक कथाको श्रृंखला वियोगान्त छ ।
पराजुलीकाे यस्ताे छ वैवाहिक इतिहास
पहिले राजनीति, त्यससँगै कानून व्यवसाय र पछि न्यायाधीश बनेका पराजुलीले यौवनावस्थामा सम्भ्रान्त परिवारकी श्रीमती ल्याएका थिए । यसवीचमा उनी जेलसमेत परे । त्यससँगै उच्च घरानाको ज्वाइँ बन्ने पराजुलीको चाहना वीचैमा छुट्यो ।
उमेर छँदै पत्नीले छाडेर गएपछि विवाह नगरी बस्ने कुरै भएन । पराजुलीले दोस्रो विवाह गरे । तर, उनको दोस्रो घरजम पनि टिकेन । उनकी पत्नीलाई ब्लड क्यान्सर भयो र उनी बितिन् ।
पत्नी वियोगबाट त्राण पाउनका लागि पराजुलीले तेस्रो विवाह गरे । तर, त्यो घरजम पनि एउटा वियोगान्त त्रासदीमा परिणत भयो । पराजुलीकी तेस्री श्रीमतीको दुर्घटनामा परेर निधन भयो । यही घटनालाई कतिपय पत्रिकाले ‘पराजुलीले श्रीमती मार्यो’ भनेर लेखेको गुनासो पराजुली परिवारको छ ।
‘पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ,’ पारिवारिक स्रोत भन्छ, ‘तर, यस्तो पीडादायी व्यक्तिगत भोगाइलाई सामाजिक सञ्जालमा पराजुलीको अपराधका रुपमा चित्रण गर्दा परिवारका अन्य सदस्यहरुको समेत चित्त दुखेको छ, श्रीमती बसन्ता त लगभग विक्षिप्तजस्तै बन्नुभएकोछ ।’
प्रधानन्याधीश पराजुलीसँग सपरिवार बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी बसन्ताको माइत दाङ हो । उनी पराजुलीसँग विवाह हुँदा युएनडीपीमा जागिर खाँदै थिइन् ।
प्रधानन्यायाधीश पराजुली हुनेखाने परिवारकै सदस्य हुन् । तनहुँ जिल्लाको काउँ शिवपुर-५ मा ज्योतिष एकदेव पराजुली र नन्दकुमारी पराजुलीको कोखबाट जन्मेका उनले दूर्गा चण्डी कवचबाट शिक्षा लिन सुरु गरे । ०१६ सालमा गाउँमा स्कुल आउँछ भन्ने चर्चा भए पनि आएन । भनीडाँडा भन्ने ठाउँमा रुखमुनि बसेर पढेका उनी पछि नवलपरासीमा बसाई सरे ।
पराजुली ०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रंवेश गरेका हुन् । नवलपरासीबाट १२ वर्ष कानून व्यवसाय गरेका उनले ६ सय मुद्दा हेरेको र ६ वटासम्म लिगल एडभाइजरी गरेको बताउने गरेका छन् । यही क्रममा आफूले राजधानीमा घरजग्गा जोडेको उनको भनाइ छ ।
०४८ साल असार ५ गते भयंकर दुर्घटनामा परेर टिचिङ अस्पतालमा उपचार भएको र त्यसको ४ महिनापछि पाटन पुनरावेदन अदालतमा पहिलो पोष्टिङ भएको उनको रेकर्ड छ ।
कानूनमा बीएल र समाजशास्त्रमा एमए गरेका पराजुलीको वायोडाटा अनुसार उनले सन् १९७९ देखि १९९१ सम्म नवलपरासीमा आधारित रहेर वकालत गरे । सन् १९९१ देखि २०१० सम्म विभिन्न अदालतहरुमा पुनरावेदन अदालतको न्यायाधीशका रुपमा काम गरे । सन् २०१० देखि २०१४ सम्म पुनरावेदन अदालतको मुख्य न्यायाधीश चलाए ।
पराजुली सन् २०१४ देखि २०१७ जूनसम्म सर्वोच्च अदालतको न्यायाधीश भए । र, करिब महिना कार्यवाहक प्रधानन्यायाधीश चलाएपछि उनी २०१७ जुलाई १७ देखि प्रधानन्यायाधीश पदमा कार्यरत छन् ।
चार श्रीमती प्रकरण’ भवितव्य हो बदनियत ?
प्रधानन्यायाधीश गोपाल पराजुलीले चारवटा बिहे गरेको विषयलाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएपछि हामीले यसबारे केही विज्ञहरुसँग चासो राखेका छौं ।
एउटा परिवार असफल भएपछि वैधानिक रुपमा अर्को विवाह गर्ने प्रचलनलाई आधुनिक समाजमा गलत मानिँदैन । जस्तो- हास्य कलाकार हरिवंश आचार्य र साहित्यकार कृष्ण धराबासीले दोस्रो विवाह गरेको विषयलाई नेपाली समाजले नकारेको छैन ।
यसका साथै आपसमा सम्बन्ध बिग्रिएपछि गरिने छोडपत्रलाई पनि नेपाली समाजले सहज रुपमा लिन थालिसकेको छ । भर्खरै हास्य कलाकार मनोज गजुरेलले श्रीमतीसँग छोडपत्र गरेका छन् । डा. रेणुराज भण्डारी र नेतृ शान्ता चौधरीले पनि छोडपत्र गरेका छन् ।
तर, के प्रधानन्यायाधीश गोपाल पराजुलीले चाहिँ नैतिकरुपमा प्रश्न उठाउनुपर्ने गरी विबाह र पारपाचुके गरेका हुन् ? यो बहस गोविन्द केसीको मुद्दासँगसँगै सामाजिक बहसको विषय बनेकै छ । सार्वजनिक ओहोदामा रहेका व्यक्तिको पारिवारिक पृष्ठभूमि अहिले सामाजिक सञ्जालमा छाएको अवस्था छ ।
यस सन्दर्भमा अब प्रधानन्याधीश पराजुलीको वियोगान्त वैवाहिक पाटोलाई बसन्ता पराजुलीले भनेजस्तै नितान्त वैयक्तिक एवं पारिवारिक मामिला मात्रै मान्ने वा सार्वजनिक आलोचनाको विषय बनाउने ? यसबारे अन्तरराष्ट्रिय ‘मिडिया प्राक्टिस’ के छ ?
अनलाइनखबरले यसबारे हाल विदेशमा रहेका मिडिया विज्ञ भानुभक्त आचार्य र चर्चित विश्लेषक उत्तमबाबु श्रेष्ठसँग संक्षिप्त प्रतिक्रिया लिएको छ ।
अनलाइनखबरकाे सहयाेगमा ।







