स्केन्डिनेभियन देशबाट थप आप्रवासी ल्याउनका लागि अनुरोध तथा हाइटी, एलसाल्भाडोर र अफ्रिकी देशलाई ‘सिटहोल’ (सीधा अर्थ चर्पीको प्वाल, अंग्रेजीको एक अशिष्ट र छाडा शब्द) का रूपमा निन्दा गर्दै गर्दा डोनाल्ड ट्रम्पले व्यक्तिगत नश्लवाद मात्रै प्रकट मात्रै गरेनन्, अरू धेरै संकेत गरे। उनले अमेरिकी आप्रवासी नीति अब काला, राता तथा गहुँगोरा वर्णका मान्छेविरोधी हुँदै गरेको स्पष्ट पारिदिए।

ट्रम्पले विधायकसँग आप्रवासी नीतिमा सुधारसम्बन्धी बैठकका क्रममा ओभल अफिसमा बिहीबार त्यस्तो विरोधपूर्ण अभिव्यक्ति दिएका थिए। दुईपक्षीय छलफलमा सहभागी इलिनोइसका सिनेट सदस्य डिक डर्बिनले शुक्रबार राष्ट्रपतिको तल्लोस्तरको र नश्लीय प्रतिक्रिया दिएको बारे पुष्टि गरे, ‘उनले घृणापूर्ण त्यस्तो अभिव्यक्ति दिए’, डर्बिनले संवाददातालाई बताए, ‘र, उनले बारम्बार त्यो कुरा दोहो¥याए।’ (ढाँटमा पोख्त ट्रम्पले आफ्ना शब्द ‘कडा’ भए पनि बाहिर आएजस्तो शब्द भने आफूले प्रयोग नगरेको भन्दै व्यापक रूपमा मिडियामा आएको अभिव्यक्तिलाई पछि तोडमोड गरे।)

राष्ट्रपतिको जातिवादी टिप्पणीले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको नाटकीय आप्रवासी नीति परिवर्तनलाई झनै प्रस्ट बनाएको छ। अघिल्लो साताको प्रारम्भमा होमल्यान्ड सेक्युरिटी प्रशासनले दुई लाख ६० हजार साल्भाडोरका नागरिकको अमेरिकामा बस्ने र वैधानिक रूपमा काम गर्ने सुरक्षित हैसियत खारेज गर्दै रहेको घोषणा ग¥यो। नोभेम्बरमा यही प्रशासनले ६० हजार हाइटीका आप्रवासीका लागि यही ‘सुरक्षित हैसियत’ को प्रावधानलाई उल्ट्यायो। होमल्यान्ड प्रशासनले दुवै देशका आप्रवासी समूहलाई आफ्नै देशमा आफैं फर्कन १८ महिनाको समय दियो।

एल साल्भाडोर र हाइटीका आप्रवासी अमेरिकामा ‘अस्थायी सुरक्षित हैसियत’ (टीपीएस ) मा बसिरहेका हुन्। ती दुवै देशमा आएका ठूला भूकम्पपछि ती देशका नागरिकलाई यस्तो हैसियत प्रदान गरिएको थियो। अघिल्ला प्रशासनहरूले बारम्बार यो हैसियतलाई स्थायी बसोवासजस्तै ठान्दै नवीकरण गरेका छन्। हाइटीका नागरिकले सन् २०१० मा ‘टीपीएस’ प्राप्त गरेका हुन्। साल्भाडोरका नागरिकले अमेरिकालाई सुरक्षित शरणका रूपमा २००१ देखि पाएका हुन्।

आधिकारिक रूपमा ट्रम्प प्रशासन हैटियन र साल्भाडोरियनको टीपीएस फिर्ता गर्दैछ र ट्रम्प प्रशासनको तर्क छ, ‘ती देश प्रमुख भूकम्पबाट सिर्जित समस्याबाट उठिसकेका छन्।’ एल साल्भाडोरको विषयमा होमल्यान्ड सेक्युरिटीले लेख्यो, ‘२००१ को भूकम्पले ल्याएको अवस्था अब त्यहाँ बाँकी छैन। त्यसकारण उपलब्ध कानुनअनुसार यहाँ बस्ने साल्भोडोरियनको वर्तमान ‘टीपीएस’ खारेज गरिनुपर्छ।’ तर यो खल्लो तर्कलाई ओभल अफिसमा ट्रम्पले गरेको भड्किलो जातिवादी टिप्पणीले अस्वीकार गरेको छ। बताइएअनुसार बिहीबार विधायकहरूले एल साल्भाडोर, हाइटी तथा अनेक अफ्रिकी देशहरूका टीपीएसधारी नागरिकलाई ‘सुरक्षित हैसियत’ प्रदान गर्ने सम्झौता गर्न सुझाव दिएपछि ट्रम्प जंगिए, ‘हामी किन यी ‘सिटहोल’ देशहरूबाट मान्छे आउने अवस्था सिर्जना गर्दैछौं ? ’ त्यसपछि ट्रम्पले धेरैजसो गोरा रङका मान्छे बस्ने देश–नर्वेबाट आप्रवासी बढाउन अपिल गरे।

राष्ट्रपतिको यो टिप्पणीलाई लिएर कट्टर अनुदारवादीहरूसमेत अचम्मित भए। दक्षिणपन्थी विश्लेषक एरिक एरिक्सनले ट्विटरमा लेखे, ‘त्यसको मतलब ज्यान फालेर काम गर्ने, हाम्रो स्वतन्त्र बजारलाई तारिफ गर्ने र भोलि आफ्ना बच्चालाई गौरवशाली अमेरिकी नागरिकका रूपमा हुर्काउन खोज्ने घानाका मान्छको सट्टा अमेरिकाप्रति कुनै खास माया नभएका नर्वेका समाजवादीलाई भिœयाउन चाहन्छन् हाम्रा राष्ट्रपति।’

तर यो पहिलोपटक होइन, न्यायिक आवश्यकताको आवरणमा प्रशासनले राष्ट्रपतिको पक्षपाती भावनालाई लुकाउन खोजेको। अदालतसँग भिड्दै, राष्ट्रिय सुरक्षाका नाममा ट्रम्पको चुनावी अभियानको वाचा पूरा गर्ने क्रममा ह्वाइट हाउसको कानुनी समूहले मध्यपूर्व र अफ्रिकी देशका नागरिकलाई ‘ब्लाकलिस्ट’ मा राखेर अस्थायी रूपमा इस्लाम आप्रवासीलाई प्रतिबन्ध लगाउने प्रयास गरेकै छ। र, तीन लाख साल्भाडोरियन र हाइटीयनलाई अमेरिकाबाट फिर्ता पठाउने कदमले प्रशासनले ट्रम्पको जातिवादलाई द्रूतरूपमा राष्ट्रिय नीतिमा बदल्न लागेको डरलाग्दो अवस्था देखिन्छ। साल्भाडोरका टीपीएस हैसियतका आप्रवासी कमसेकम १७ वर्षदेखि अमेरिकामा छन्– कति त अझै त्योभन्दा अघिदेखि। उनीहरू अमेरिकी समाज निर्माणमा गहिरोसँग जोडिएका छन्। एक लाख नब्बे हजार अमेरिकी नागरिकताप्राप्त व्यक्तिका कमसेकम एक बा वा आमा टीपीएस हैसियतवाला छन्।

प्रशासन यी आप्रवासीलाई निर्मूल पार्न चाहन्छ र ल्याटिन अमेरिकाको ‘हत्या हुने राजधानी’ मा पठाउन चाहन्छ– किनकि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ठान्छन् आप्रवासीहरू कमजोर हुन्। ह्वाइट हाउसका उपप्रवक्ता राज शाहले राष्ट्रपतिको टिप्पणीलाई बिहीबार राति ‘ट्रम्पले योग्यतामा आधारित आप्रवासी चाहेको’ बताउँदै बचाउ गरे। उनले भने, ‘ट्रम्प हाम्रो समाजलाई योगदान गर्ने, अर्थतन्त्र वृद्धि गर्ने र हाम्रा मान्यता आत्मसात गर्ने आप्रवासी चाहन्छन्।’ शाहले भने, ट्रम्प ‘मेहनती अमेरिकीहरूको जिन्दगी खतरामा पार्ने अस्थायी, कमजोर र खतरनाक अस्थायी मापदण्डलाई सधैं अस्वीकार गर्छन्।’

साल्भाडोरियन, हैटियन र अफ्रिकीहरूलाई खतरनाक, योगदान नगर्ने र समाजको मान्यता आत्मसात नगर्नेका रूपमा प्रस्तुत गरेर राष्ट्रपतिले आफ्नो मास डिपोर्टेसन (धेरै संख्यामा मान्छे फिर्ता गर्ने) योजनालाई जातीय सफायाको कलंकका रूपमा बोकिरहेका छन्। रुवान्डामा भएको इतिहासकै डरलाग्दो जातीय सफायालाई इतिहासबद्ध गरेका फिलिप गुराभिचले ट्विटरमा ट्रम्पले प्रयोग गरेको भाषाबारे लेखे, ‘सबै प्रकारका मान्छेलाई ‘सिटहोलबाट आएका मान्छे’ र अन्य प्रकारका मान्छेलाई आकर्षक देख्नु रंगविरोधी, जातद्वेषी र विनाशकारी भाषा हो।’ उनले लेखे, ‘शाब्दिक हिंसाले भौतिक हिंसा निम्त्याउँछ र एक अवस्थामा कमसेकम उनलाई थाहा छ, उनी के गरिरहेका छन्।’

ट्रम्पको हाइटीविरुद्धको निम्नस्तरको टिप्पणी यसकारण पनि दुःखद् छ कि फ्लोरिडाको हाइटीयन समुदायसँग राष्ट्रपतीय चुनावको प्रचारका क्रममा ट्रम्पले सहयोग मागेका थिए। सेप्टेम्बर २०१६ मा मायामीको लिटल हाइटी भन्ने स्थानमा आफ्नो चुनावी अभियानलाई सम्बोधन गर्दै सेक्रेटरी अफ स्टेटका भूमिकामा हिलारी क्लिन्टनले हाइटीको भुइँचालोमा खेलेको भूमिकालाई लिएर उनले हिलारीको आलोचना गरेका थिए।

ट्रम्पले जोड दिँदै भनेका थिए, ‘म साँच्चै तपाईंहरूको सबैभन्दा ठूलो पक्षपाती बन्न चाहन्छु।’ हैटियनहरूको सहयोगको अपेक्षा गर्दै उनले भनेका थिए, ‘तपाईंहरूले आखिर गुमाउनुपर्ने के नै छ ? ’

(रोलिङस्टोन डटकमबाट अनूदित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार