राताेखबर संवाददता ।
नेपाल कम्युनिस्ट पार्टीले माघ १५ देखि तीनमहिने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ चलाउने भएको छ ।
नेकपाले मेचीदेखि महाकालीका सबै भू–भागमा जागरण अभियान चलाउने भएको छ । उसले प्रचण्ड– बाबुरामको नेतृत्वमा विचलित पार्न खोजिएको माओवादीधारालाई अभियानको क्रममा वैचारिक रूपले सुढृढ गर्न, जनमत बनाउन प्रयत्न गर्ने जनाएको छ । यस अभियानको क्रममा उसले क्रान्तिकारी तथा देशभक्त जनसमुदायका बीचमा ध्रुवीकरणको अभियानलाई पनि तीव्र पार्नेछ । अभियानको क्रममा संसदीय प्रणाली मूलतः उसकै शब्दमा सामाजिक दलाल पुँजीवादको भण्डाफोर गर्नेछ ।
कम्युनिस्ट र वामपन्थीको नाममा जनचेतना, पहलकदमी तथा सचेतनपक्षलाई कमजोर बनाउने र त्यही मौकामा भयानक राष्ट्रघात र जनदमन गर्ने सम्भावनाका विरुद्ध त्यसको खतरा जन्मनुअगावै जनतालाई ब्युँझाउने अभियान नेकपाले संचालन गर्ने भएको छ ।
नेकपाले अभियानको क्रममा वैचारिक र राजनीतिक चेतनालाई तीव्र पार्नेछ । जनयुद्धको विरुद्ध प्रचण्ड– बाबुरामले भयानक धोका दिंदासमेत समयमै नियन्त्रण गर्न नसकेका कारणको खोजी र सामाजिक चेतना नै प्रतिक्रान्तिका विरुद्ध कसरी उठाउने भन्ने प्रश्नमा ध्यान केन्द्रित गर्ने भएको छ । चुनावलगत्तै पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य उपभोग्यवस्तुको मूल्यवृद्धि आकासिएको छ ।
प्रचण्डले चुनावी खर्च ९ लाख गरेको दाबी गरेको बेला जनताले एक अर्ब खर्च गरेको आरोप लगाएका छन् । सबै चुनावी नेताको स्थिति त्योभन्दा पृथक छैन । चुनावमा उम्मेदवारहरूले नक्कली मुद्रा बाँडेको कारण मुद्रास्फिति र आर्थिक संकट गहिरिंदै गएको छ । स्थानीय निकायका प्रतिनिधिले चुनाव खर्च उठाउन भ्रष्टाचार तीव्र पारेको सूचनाहरू आइरहेका छन् । स्थानीय निकायले लोकतन्त्र, लोककल्याण र राहतबिनाको थेग्नै नसक्ने अकल्पनीय कर थोपरेका छन् ।
त्यसका विरुद्ध नेकपाले पाँचलाखभन्दा साना ऋणीको ब्याज मिनाहा गर्नुपर्ने, सुकुमबासीलाई गाँस, बास र रोजगारीको व्यवस्था नगरी थातथलोबाट उठाउन नपाउनेजस्ता मागहरूसहित राज्यपक्षलाई दबाब दिन तीनमहिने अभियान प्रभावकारी बनाउने भएको छ







