नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रमुखको नाममा आफूहरुको कुनै सहमति नभएको भन्दै अब बन्ने सरकारले निर्णय उल्टाउने समेतको संकेत गरेका छन् ।
नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘प्रदेश प्रमुख तोक्नको लागि हामीले यो सरकारलाई ताकेदा गरेकै हो, तर हामीसँग सहमति भएको छैन । न प्रदेश प्रमुखको विषयमा सहमति भयो, न त अस्थायी मुकाम तोक्नेबारे ।’
सरकारले ढिलै भएपनि निर्णय गरेर नयाँ सरकार गठनको लागि सहज वातावरण बनाउन पहल गरेको तर्क गर्दै ओलीले अब यही विषयलाई आफूहरुले ईस्यु बनाएर आन्दोलन भने नगर्ने विश्वास दिलाए । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, ‘अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’
‘तपाईको सरकार आएपछि अहिले नियुक्त भएका प्रमुखहरुलाई हटाउनुहुन्छ त ?’ भनेर पत्रकारले सोधेकाे एक प्रश्नमा उनले भने,‘अहिले जे निर्णय भएको छ, यो निर्वाचित सरकारले नियुक्ती गरेको होईन, चुनावअघिको सरकारले गरेको भएर मान्नुपर्छ भन्ने छैन ।’
ओलीले वाम गठबन्धनको सरकारले अहिलेको निर्णय उल्टाउन सक्ने संकेत गरे ।







