सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य सहर तनावग्रस्त छन् । प्रदर्शनकारीले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

लामो समयदेखि प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटावासी सरकारले बुधबार विराटनगरलाई अस्थायी मुकाम तोकेपछि आक्रोशित भएका छन् ।बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनीहरू सरकारी कार्यालयमा आगजनी गर्दै तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले बिहीबार बिहान १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय गरेलगत्तै वीरगन्जवासीले आन्दोलन चर्काएका छन् । वीरगन्जलाई राजधानी बनाउन माग गर्दै आन्दोलित उनीहरूले बिहीबार घण्टाघर, माईस्थान, मुरलीलगायत ठाउँमा टायर बालेर प्रदर्शन गरे । वीरगन्ज, मेनरोडका पसल र बजार दिनभर नै बन्द भए । अाजकाे अन्नपूर्णले लेखेकाे छ ।

त्यस्तै प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि भक्तपुरवासी आक्रोशित भएका छन् भने प्रदेश ५ को राजधानी रूपन्देही तोकिएकोमा दाङवासीको आक्रोश चुलिएको छ । प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटीमा बिहानैदेखि सुरु भएको प्रदर्शन क्रममा आन्दोलनकारी र प्रहरीबीच पटक-पटक झडप भएको छ । दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तीन प्रदर्शनकारी घाइते भएका छन् ।

दाङ बन्द यथावत्

तुलसीपुर संवाददाता गोपाल शर्माका अनुसार दाङमा प्रादेशिक राजधानी माग गर्दै गरिएको आमहडताललाई संघर्ष समितिले चर्काउँदै लगेको छ । सरकारले प्रदेश ५ को मुकाम बुटवल तोकेपछि बुधबारबाटै दाङमा आन्दोलन सुरु भएकोे छ । संघर्ष समितिका संयोजक तथा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले आन्दोलन सशक्त बनाउने बताए । आन्दोलनलाई केन्द्रीकृत गर्दै सशक्त बनाइएको र सरकारले दाङ राजधानी नबनाउँदासम्म आन्दोलन यथावत् राखिने उनले जानकारी दिए ।

यसैबीच संघर्ष समितिले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका कार्यक्रममा कालो झन्डा राख्नेदेखि राष्ट्रियसभा निर्वाचन बिथोल्नेसम्म छन् । माघ ३ लाई कालो दिन घोषणा गर्दै घर घरमा कालो झन्डा राख्ने, आमहडताललाई निरन्तरता दिँदै अस्पतालबाहेक सबै सरकारी कार्यालय र बजार बन्द गर्ने, अटो, रिक्सा बन्द गर्ने, आसन्न राष्ट्रियसभा चुनावलाई प्रभावित पार्नेे गरी जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउनेलगायत आन्दोलन सार्वजनिक गरिएको छ ।

धनकुटामा कर्फ्यू

धनकुटा संवाददाता हरिबहादुर लम्जेलका अनुसार राजधानी माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि लागू हुने गरी सदरमुकामस्थित जिरो प्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रमा कर्फ्यू लगाएको छ । स्थिति तनावपूर्ण भएकाले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । ‘तनावको स्थिति सामान्य अवस्थामा नआउन्जेलसम्म कर्फ्यू खुल्दैन’, उनले भने ।

वीरगन्ज बन्द

वीरगन्ज संवाददाता क्रान्ति शाहका अनुसार तीन सातादेखि आन्दोलन गर्दै आएको वीरगन्ज राजधानी संघर्ष समितिको आह्वानमा बिहीबार भएको बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन ठप्प भए । ट्याम्पु, ई-रिक्सा तथा निजी साना चारपांग्रे गाडी पनि दिनभर चलेनन् । बन्द अवज्ञा गरेको भन्दै आन्दोलनकारीले घण्टाघर चोकमा बा१२च ७३६५ नम्बरको निजी सुजुकी कार, ना४च ३०८१ नम्बरको टाटासुमो र ना१ह ५४८० नम्बरको ई-रिक्सा तोडफोड गरेका छन् । उनीहरूले वीरगन्ज महानगरपालिका कार्यालयमा ढुंगा हानेर सिसा फुटाइदिएका छन् ।

कपिलवस्तुमा पनि तनाव

कपिलवस्तु संवाददाता दीपक आचार्यका अनुसार सरकारले प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही बनाउने निर्णय गरेसँगै कपिलवस्तुवासी असन्तुष्ट भएका छन् । कपिलवस्तु युवा संघर्ष समिति ‘बुद्ध प्रदेश’ ले बिहीबार जिल्ला बन्द आह्वान ग¥यो । बन्दका कारण सदरमुकाम तौलिहवामा दिनभर सवारीसाधन, शैक्षिक संस्था, उद्योगधन्दा, पसल ठप्प भए । चारवटा ‘बुद्ध’ले राज्य गरेको कपिलवस्तुलाई पन्छाई सरकारले बुधबार गरेको निर्णयप्रति दुःख लागेको संघर्ष समितिका संयोजक रउफ अहमद खानले बताए । कपिलवस्तुलाई राजधानी नबनाए सशक्त आन्दोलन चर्काउने संघर्ष समितिका सहसंयोजक दीपक पाण्डेयले चेतावनी दिए ।

दीपायलमा तीन घाइते

दिपायल संवाददाता खगेन्द्रबहादुर सिंहका अनुसार प्रदेश ७ को राजधानी धनगढी तोकेको विरोधमा आक्रोशित दिपायलवासीले प्रदर्शन सुरु गरेका छन् । प्रदर्शन क्रममा प्रहरीसँग ठाउँ-ठाउँमा झडपसमेत भएको छ । झडपमा तीन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई नेपालगन्ज रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार