काठमाडौं । सरकारले ३० पुसमा सशस्त्र प्रहरीमा पाँच एआईजीको दरबन्दी थप गर्ने निर्णय लियो । हतारमा त्यसको प्रक्रिया पनि शुरु भयो । तर, करिब पाँच वर्षदेखि खाली रहेका ३० एसपीको दरबन्दी पूर्ति गर्न न संगठन प्रमुखको चासो देखिन्छ, न त गृह मन्त्रालयकै ।

संविधानले संघीय सुरक्षा फौजको रुपमा परिभाषित गरेको सशस्त्र प्रहरीमा डीएसपीका ४० वटा दरबन्दी खाली छन् । ती पदका लागि योग्य भएर पनि डीएसपी र इन्स्पेक्टरहरुले बढुवा पाएका छैनन् ।

सशस्त्र प्रहरीमा ‘फ्रेस ब्याच’बाट इन्स्पेक्टर बनेकाहरुमध्ये पहिलो ब्याचका नौ जना अहिलेसम्म डीएसपी नै छन् । उनीहरु इन्स्पेक्टरमा भर्ना भएको १६ वर्ष बित्यो र डीएसपीको फुली लगाएको १३ पुगेर १४ वर्ष लाग्यो । उक्त ब्याच २६ कात्तिक ०५९ मा इन्स्पेक्टर बनेको थियो । र, १२ चैत ०६१ मा डीएसपी बढुवा भएको थियो ।

यस्तै, दोस्रो ब्याचअन्तर्गत् २९ चैत ०५९ मा इन्स्पेक्टर बनेका ७५ जना डीएसपी भएकै ११ वर्ष बित्यो । उनीहरुको २९ चैत ०६३ मा बढुवा भएको थियो । असार ०६० मा तेस्रो ब्याचका इन्स्पेक्टर बनेकाहरु डीएसपी बनेको पनि सात वर्ष बित्यो । उनीहरुको ०६७ र ०७० मा गरी दुई चरणमा बढुवा भएको थियो ।

असार ०६१ मा भर्ना भएको चौथो ब्याचमा केही ०७० सालयता डीएसपी छन् भने उनीहरुकै ब्याचीहरु इन्स्पेक्टरमा थन्किएर आफ्नै ब्याचमेटलाई सलाम गर्दै बसेका छन् । बढुवा नपाएका अधिकृतहरु १३ वर्षदेखि निरन्तर इन्स्पेक्टर छन् ।

‘फ्रेस ब्याच’का अधिकृतहरुले एसपी बन्न नपाउँदाको लाभ नेपाल प्रहरीको नायब निरीक्षक (सई)बाट इन्स्पेक्टर बन्दै सशस्त्र प्रहरीमा छिरेकाहरुले उठाइरहेका छन् । अहिले एसपी रहेका तिनीहरुले उक्त पदको १० वर्षमा नौ वर्ष गण र सीमा सुरक्षा कार्यालय प्रमुख बनेर मस्ती मार्न पाइरहेका छन् ।

‘फ्रस ब्याच’का अधिकृतहरु भने चरम निरासामा छन् । त्यही निरासाका बीच हालसम्म १० जनाले इन्स्पेक्टर र डीएसपीबाट राजीनामा दिएर आफ्नो जीवन यात्रालाई अर्कै मोड दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार