नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनबाट केपी अाेली प्रधानमन्त्री बन्ने करिब ९९ प्रतिशत निश्चित भएकाे र पार्टी अध्यक्षबारे सल्लाह गर्न बाँकी रहेकाे बताएका छन् ।
खनालले भने,‘अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ भन्ने विष्यामा सल्लाह गर्न बाँकी छ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै वरिष्ठ नेता खनालले यस्तो बताएका हुन् ।
‘अब बन्ने कार्यदलले आवश्यक गृहकार्य गरेर नीति र नेतृत्वको विषयमा टुँगोमा पुग्छौं।’ उनले भने,‘अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुई वटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउँछ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे ।
‘पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा हुँदैन्, दुवैले आ–आफ्नो ढंगले काम गर्छन्, तर पार्टी एकता सरकार गठनभन्दा पहिलेपनि हुनसक्छ।’ खनालले भने ।







