चिनियाँ विदेश मन्त्रालयले दोक्लाम चीनकै हिस्सा भएको दोहोर्‍याउँदै उक्त क्षेत्रमा आफ्नो देशले सडक बनाउनु जायज भएको बताएको छ।

बेइजिङमा एउटा पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लू काङले त्यसबारे जानकारी गराएकी हुन्। केही सञ्चारमाध्यमहरूमा हालै प्रकाशित भूउपग्रह तस्वीर अनुसार चीनले विवादित भनिएको उक्त क्षेत्र नजिकै चीनले एउटा ठूलो सैन्य संरचनाको निर्माण गरिरहेको छ।

चीनले सैन्य संरचनाको निर्माण गरिरहेको स्थान केही महिनाअघि भारतीय र चिनियाँ सेना आमुन्नेसामुन्ने भएको ठाउँदेखि नजिकै रहेको छ।

सैन्य संरचना निर्माणबारे पत्रकारको जिज्ञासामा प्रवक्ता लूले भनिन्, “मैले पनि त्यसबारे रिपोर्ट हेरेँ र मलाई आश्चर्य लागेको छ कि ती तस्वीर कसले उपलब्ध गरायो?”

दोक्लामबारे चिनियाँ धारणा राख्दै उनले थपिन्, “दोक्लाम चीनको हिस्सा हो र सधैँ चिनियाँ क्षेत्राधिकारभित्र रहिआएको छ। यसमा कुनै सन्देह छैन।”

उनले सो क्षेत्रमा चीनले त्यहाँ बस्दै आएका सर्वसाधारण र सेनाका लागि सडक जस्ता पूर्वाधारको निर्माण गरिरहेको बताइन्। ले भनिन्, “त्यो पूर्ण रूपमा वैध छ किनकि हामीले हाम्रो क्षेत्रमा सार्वभौमसत्ताको प्रयोग गरिरहेका छौँ। भारतले आफ्नो क्षेत्रमा कुनै निर्माण कार्य गरे हामीलाई कुनै आपत्ति हुनेछैन। र, आशा छ हाम्रो निर्माण कार्यप्रति कुनै अर्को देशले बेतुकको टिप्पणी गर्ने छैन।”

गत वर्षको अगष्टमा भारत र चीनले दोक्लामबाट आ-आफ्ना सेना फिर्ता बोलाएका थिए। त्यसअघि ७३ दिन जति दुई देशका सेनाबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

करिब साढे दुई महिना लामो तनावपछि दुई देशले सेना फिर्ता बोलाउने सहमति गरे। तर पछिल्ला केही दिनयता दोक्लाम मुद्दा फेरि चर्चामा आउन थालेको छ र फेरि दुई देशबीच तनाव उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिँदैछ।

पछिल्लो पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतीय सीमा सुरक्षा बलका सदस्यहरू गैरकानूनी रूपमा चिनियाँ भूभागमा प्रवेश गरेको बताइन्। उनले भनिन्, “आशा छ भारतले विगतबाट पाठ सिकेको हुनुपर्छ र त्यो गल्ती दोहोर्‍याउने छैन।”

उनले दुई देश मिलेर सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने दिशामा अघि बढ्ने विश्वास समेत व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार