दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सोमबार राष्ट्रपति भवनमा भएको बैठकमा बयान दिँदै दुई कोरियाबीचको मिलापले अमेरिकासँग पनि वार्ताको बाटो खुलाउने बताएका छन् ।
आगामी ओलम्पिक्स खेल अमेरिकाका लागि उत्तर कोरियासँग आणविक हतियार सम्बन्धी छलफल गर्ने धेरै राम्रो अवसर भएको उनले बताएका हुन् । एकवर्षको तनावपूर्ण सम्बन्धपछि ओलम्पिक खेलका कारण उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण वार्ता भएको हो जसपछि उत्तर कोरियाले दक्षिणमा २२ खेलाडी पठाउने र संयुक्त खेल खेल्न सहमत भएको थियो ।
यसै खेलले आणविक हतियार र मिसाइलका सम्पूर्ण समस्यालाई समाधान गरेर कोरियाली प्रायद्विपमा सदाका लागि शान्ति स्थापना गर्ने मुनले सो बैठकमा बताएका हुन् । उनले भने, ‘ तरपनि वार्ता गर्नका लागि अहिलेको उचित वातावरण कति समय रहन्छ भन्ने कसैलाई थाहा छैन । त्यसकारण यही अवसरमा अमेरिकाले पनि उत्तर कोरियासँग सबै मुद्दाबारे छलफल गर्नु उपलब्धिमूलक हुनेछ ।’
उता उत्तर कोरियाबाट आउने सबै प्रतियोगी खेलाडीलाई अधिकांश दक्षिण कोरियाली नागरिकले स्वीकार गर्ने बताएका छन् । तरपनि थोरै सङ्ख्यामा रहेका नागरिकहरुले भने उत्तर कोरियाविरुद्ध किमको तस्बिर जलाएर प्रदर्शन गरेका थिए ।
उत्तर कोरियाबाट ओलम्पिक भ्रमणका लागि आएका अधिकारीहरु भएकै स्थानमा प्रदर्शनकारीले विभिन्न विरोध र्याली निकालेको सिओलका अधिकारीले बताएका हुन् ।







