राजनीतिक विश्लेषक सौरभले कुनै पनि बेला प्रचण्डले केपी ओलीलाई धोका दिन सक्ने बताएका छन् ।

एमाले र माओवादीको गठबन्धनले चुनावबाट बहुमतको बलमा वामपन्थी सरकार बनाउने दिन आइरहँदा प्रचण्डले कुनैपनि बेला ओलीलाई धोका दिन सक्ने विश्लेषक सौरवको दाबी छ ।

विश्लेषक सौरवले प्रचण्ड दोहोरो राजनीति गर्ने नेता भएको बताउँदै उनले आफ्नो सुविधाजनक राजनीतिका लागि ओलीलाई धोका दिन सक्ने बताएका हुन् ।

अनलाइखबरसँग कुराकानी गर्दै सौरभले यस्तो बताएका हुन् ।

सौरभसँगको वार्ताको संक्षिप्त अंश :

भोलि प्रचण्डले ओलीलाई धोका दिन सक्ने सम्भावना देख्नुभएको छ कि छैन ?

एमाले-माओवादी गठबन्धनले वाम बहुमत आएको छ । पुष्पकमल दाहालले कांग्रेसबाट आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आएको र आफूले त्यसलाई अस्वीकार गरेको बताउँदै हिँडेका छन् । बाहिरबाट हेर्दा अहो कस्तो अडान लिएकोजस्तो देखिन्छ । तर, भित्रबाट कांग्रेससँग उनको ‘बार्गेनिङ’ चलिरहेको छ भन्ने बुझ्नुपर्छ ।

पुष्पकमलले बीचमा धोका दिने सम्भावना देख्छु । एकदम देख्छु । किनभने, त्यति एक्रोब्याटिक्स खेल्न सक्ने मान्छे अर्को छैन । छिट्टै औपचारिक रुपमै दोहोरो कुरा गर्ने व्यक्ति त्यो तहमा नेपाली राजनीतिमा पाइँदैनन् । मान्छे लचिलो हुनु र दोहोरो कुरा गर्नु फरक कुरा हुन् । लचिलो भनेको परिस्थिति हेरेर सबैलाई राम्रो होस् भन्ने उद्देश्यले अनुकुल हुने हो । दोहोरो भनेको आफ्नो अवसर हेरेर धारणा बदल्ने हो । मलाई त्यस्तो लाग्छ ।

केपी ओली प्रधानमन्त्री भएपछि प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्ने कुरा आइरहेको छ । के यो सम्भव छ ?

ओलीजी प्रधानमन्त्री हुने कुरा स्वाभाविकै हो । उहाँको पार्टीले चुनाव जितेको छ । उहाँ प्रधानमन्त्री पदका हकदार हुनुहुन्छ । तर, पुष्पकमल एमालेको अध्यक्ष बन्ने कुराचाहिँ मलाई त्यति स्वाभाविक लाग्दैन । सानो पार्टीका नेतालाई अध्यक्ष दियो भने एमालेका नेतादेखि कार्यकर्ता पंक्तिसम्ममा आन्तरिक विद्रोहहरु नहोलान् र ? त्यसको प्रबल सम्भावना छ । नेतृत्वले चाहेर मात्रै पुष्पकमललाई पार्टी जिम्मा दिन सजिलो छैन । यदि दिइयो भने यो एमालेको ठूलो मुर्खता हुनेछ ।

तर, ओलीले पप्रधानमन्त्री भएर पाँच वर्ष देश चलाउँदा प्रचण्डलाई पार्टी चलाउन दिनु ठीकै होइन र ?

पदको भागबण्डा भनेको पार्टीको हैसियतअनुसार हुने हो । एमाले र माओवादी केन्द्रको हैसियत गएको चुनावबाट देखिएकै छ । दुई पार्टीको एकता हुँदा सानो पार्टीको नेताले एकीकृत पार्टीको बागडोर दिइएको कतै देख्नु-सुन्नुभएको छ ? जस्तै- उदाहरणका लागि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच धेरै कुरा मिल्छन् । भोलि केही गरी यी दुई पार्टी एकीकरण हुने भए भने कमल थापाले अध्यक्ष पाउलान् ?

मेरो विचारमा प्रचण्डलाई वरिष्ठ नेता वा त्यस्तै कुनै गरिमामय पद सिर्जना गरेर दिँदा राम्रो हुन्छ । मुल नेतृत्व ओलीले नै लिनुपर्छ । ओली चुनावमा सबैभन्दा बढी भोट पाएका देशका सर्वाधिक लोकप्रिय नेता हुन् भन्ने बिर्सिनु भएन । उनी एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदका हकदार हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार