नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको ‘कामचलाउ’ सरकारले बुधबार वृद्धभत्ता पाउने उमेरहद ७० वर्षबाट ६५ कायम गर्ने निणय गरेकाे छ ।
मन्त्रिपरिषद्को बुधबारको याे निर्णयसँगै दलका केही नेताहरू पनि वृद्धभत्ता पाउनेमा परेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पहिलाे पंक्तिमा परेका छन् । त्यस अतिरिक्त कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वृद्धभत्ताका लागि योग्य छन् । २००१ सालमा जन्मेका पौडेल ७३ वर्षका भए । कांग्रेसकै कुलबहादुर गुरुङ ८२ वर्ष भइसकेका छन् ।
सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा भत्ताको विरोध गर्ने कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत पनि वृद्ध भत्ताका लागि योग्य हुनेछन् ।
कांग्रेस सरकारले तोकेको मापदण्डअनुसार डा. शेखर कोइराला ६७ र ७० वर्षका प्रदीप गिरी पनि वृद्धभत्ताका लागि योग्य छन् ।
२००४ सालमा जन्मेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, ६७ वर्ष पुगेका आनन्द ढुंगाना ६८ वर्षका चीनकाजी श्रेष्ठ र ७० वर्षका ध्यानगोविन्द रञ्जितले पनि वृद्धभत्ता पाउने छन् ।
६८ वर्ष पुगेका कृष्ण सिटौला र अर्जुननरसिंह केसी पनि ६५ वर्षे वृद्ध भत्ताका लागि योग्य भएका छन् ।
नेकपा एमालेमा पनि वृद्धभत्ता पाउन योग्य नेताहरुको सुचि लामै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली वृद्ध भत्ताका लागि योग्य छन् ।
अर्को नेता माधवकुमार नेपाल पनि ६५ वर्ष पूरा भइसकेको छन् । झलनाथ खनाल ७० वर्षको हाराहारीमा पुगेका छन् । त्यसैले उनले पनि वृद्ध भत्ता लिन चाहेमा योग्यता पुग्ने छ ।
उपाध्यक्ष बामदेव गौतम त झन एमालेका पाका नेताका रुपमा चिनिन्छन् । गौतम पनि ७० वर्ष कटिसकेकाले भत्ता पाउनका लागि योग्य छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ६५ वर्ष पुगिसकेका छन् । संसद सचिवालयको सूचिमा प्रचण्डको उमेर ६३ उल्लेख भए पनि अहिले उनी वृद्धभत्ताका लागि योग्य भइसकेका छन् । सुवास नेम्वाङ पनि ६५ वर्ष पूरा भइसकेका छन् । उपाध्यक्ष युवराज ज्ञवाली पनि ६५ वर्ष पूरा गरेकाले वृद्धभत्ता पाउन योग्य छन् ।
नेकपा मालेका अध्यक्ष सिपी मैनाली पनि वृद्धभत्ता पाउन योग्य नेताको सूचिमा छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यले यसअघि नै वृद्धभत्ताको मापदण्ड पूरा गरिसकेका छन् ।
उमेरले वृद्धभत्ताका लागि योग्य भए पनि राजनीतिक गरेर मनग्य पैसा कमाएका नेताहरु भत्ताका लागि प्रक्रियामा सहभागि हुने सम्भावना भने ज्यादै न्युन छ ।
काठमाडौंमा सुविधा सम्पन्न बंगलामा बस्ने नेताहरुलाई वृद्धभत्ता थाप्न जाँदा लाज पनि लाग्दो हो ।







