अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशकले यसै वर्षको अन्त्यतिर हुने अमेरिकाको मध्यावधि चुनावमा रूसले हस्तक्षेपको प्रयत्न गर्न सक्ने बताएका छन्।
सीआइएको मुख्यालयमा कुरा गर्दै माइक पोम्पेओलेले त्यस्ता प्रयत्नहरूलाई सीअाइएले रोक्ने प्रयास गरिरहेको बताए। अधिकांश बिहान राष्ट्रपति डोनल्ड ट्रम्पलाई जानकारी गराउने सीआइए निर्देशक पोम्पेओले राष्ट्रपतिले ठीक ढङ्गले काम नगरेको भन्ने आरोपलाई ‘वाहियात’ भन्दै खण्डन गरे।
बीबीसीसँगको अन्तर्वार्तामा उनले अबका केही महिनामा उत्तर कोरियाले अमेरिकासम्म पुग्ने परमाणविक क्षेप्यास्त्र विकास गर्न सक्ने पनि बताए।
प्रति-आतंकवादका विषयमा रुससँग साझेदारी भएपनि पोम्पेओले रूस मुख्य रूपमा अहिले पनि अमेरिकाको प्रतिद्वन्द्वी भएको बताएका छन् ।उनले युरोपका धेरै देशलाई नोक्सान हुने गरी अहिले पनि उसले गुप्तचर गतिविधि गरिरहेको र त्यो नघटेको बताए।
पोम्पेओले भने, “मैलै रूसीहरूको गतिविधि उल्लेख्य रुपमा कम भएको देखेको छुइनँ, मलाई लाग्छ उनीहरूले आफ्नो प्रयासलाई निरन्तरता दिनेछन्। तर म विश्वस्त छु हामीले स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेछौँ र उनीहरूले हाम्रो चुनावलाई खासै प्रभावित पार्न सक्ने छैनन्।
तस्वीर कपीराइटAFP/GETTY IMAGESअमेरिकी गुप्तचर निकायहरूले सन् २०१६ को राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको विश्वास गर्ने गरेका छन्। तर राष्ट्रपति ट्रम्पले त्यसलाई पूर्ण रूपमा खारेज गर्दै आएका छन्।
त्यससम्बन्धी एउटा प्रश्नमा पोम्पेओले आफूहरूले सीआइएबाट प्राप्त एकदमै वास्तविक सूचना राष्ट्रपति ट्रम्पलाई नियमित रूपमा उपलब्ध गराउने गरेको जवाफ दिए।
राष्ट्रपति ट्रम्प वाशिङटन डीसीमा हुँदा पोम्पेओले नियमित रुपमा उनलाई भेट्ने गर्छन् र समसामयिक घटनाक्रम र रणनैतिक मुद्दाहरूमा जानकारी दिन्छन्।







