
माओवादी केन्द्र छोडेर स्वतन्त्र माओवादी नेता बनेका लोकेन्द्र बिस्ट मगरले पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धका बेला जुम्ला र खाराको फौजी आक्रमणबाट डराएर शान्तिपूर्ण संक्रमणको बाटोमा आएको बताएका छन् ।
नेकपा निकट पत्रिका रातोखबर साप्ताहिकसँगको कुराकानीमा बिस्टमगरले प्रचण्ड जनयुद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि विचार र राजनीतिलार्इ पूरै डाइभर्ट गरेकाे बताएका छन् ।
बाँकी क्रान्तिका कार्यभार पूरा गर्न शान्तिपूर्ण क्रान्तिको बाटो अबलम्बन गरेको तर नेतृत्वले पार्टी र आन्दोलनलाई नाँचगानमा सीमित गरेको नेता बिष्टको आरोप छ ।
बिष्टसँगको कुराकानीको संक्षिप्त अंश :
जुम्ला कारबाही, खारा कारबाहीपछि नेतृत्व अलि आतङ्कित भयो, मरिन्छ कि भनेर नेतृत्व डराएको आभास हुने भो । त्यसरी भइसकेपछि शान्तिप्रक्रियामा आउनुका दुईटा कारण भए : एउटा उपलब्ध उपलब्धिको रक्षा गर्ने, अर्को बाँकी कार्यभार पूरा गर्ने शान्तिपूर्ण रूपमा क्रान्तिको तयारी गर्न हो भन्ने हो उपलब्ध उपलब्धिको रक्षा गर्नु भनेको गणतन्त्रको सङ्घीयता, धर्मनिरपेक्षताको समानुपातिक समावेशी राजनीतिक प्रतिनिधित्वको रक्षा गर्ने कुरा हो । त्यसको रक्षा कति हुन्छ, देख्ने कुरा भयो र तपाईंहामीले क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने यी बुर्जुवा केही कुरा पूरा भएका हुन् । यसलाई क्रान्तिकारी भने पनि भयो एउटा कोणबाट, अर्को कोणबाट बुर्जुवा भने पनि भयो, जस्तो गणतन्त्र पनि बुर्जुवा भयो । जस्तो सङ्घीयता ल्याउनका लागि जनयुद्ध लड्नैपर्छ भन्ने पनि होइन तर नेपालका सन्दर्भमा भयो भनौँ ।
अब क्रान्तिका बाँकी कार्यभार पूरा गर्न शान्तिपूर्ण ढङ्गले क्रान्तिको तयारी गर्ने भन्ने आइसकेपछि सदन र सरकारबाट सडकबाट त केही काम भएन । कहिल्यै केही भएन । हुनत खोज्यो तर नाचगानको टाइपको पनि भयो । नाचगानले त कहिले क्रान्ति हुन्छ र ? जस्तो छ दिने आन्दोलनमा नाचगान गरियो । प्रचण्ड कमरेड रेखा थापासँग नाच्नुभयो । ठीक छ त्यो ‘माहौल’ त्यस्तो थियो । मैले नेतालाई उडाउन खोजेको होइन, इलीबिल्ली पार्न खोजेको होइन । तर आउने मान्छेलाई आउन दिने भयो, नाच्ने मान्छेलाई नाच्न दिनुपर्यो । तर त्यो रूपमा राज्यसत्ता लिन सकिन्छ त ? सकिँदैन । त्यसो भएको हुनाले हाम्रो मुख्य उद्देश्य पूरा भएन र नेतृत्व अर्कैतिर डाइभर्ट भयो । नम्बर दुई, विचार र क्रान्ति सपनाको कुरा आयो । नेतृत्व डाइभर्ट भयो । सपना पनि बिस्तारै ओझेल पर्ने कुरा हो । पार्टीभित्र विचार, राजनीतिक, सैद्धान्तिक कुरालाई लिएर कहिल्यै पनि गहिरो प्रकारले प्रशिक्षण, स्कुलिङ भएन, टिचिङ, कोचिङको कुरा आएन । तेस्रो कुरा यो रूपमा आइसकेपछि क्रान्तिलाई धोका भयो । अर्को कुरा सङ्गठनात्मक रूपमा लथालिङ्ग भयो किनभने सङ्गठन गर्ने कुरामा जनतामा जानुपर्ने हो । जनतामा जानका लागि योजना, कार्यक्रमहरू जनता र गाउँमुखी हुनुप¥यो । ‘एक्सनल’ खालका हुनुप¥यो ।
त्यसका लागि मूल नेतृत्व नखटीनहुने हुन्छ । मूल नेतृत्व टिम खट्नुपर्ने हुन्छ । तर सदन र सरकारमा बसेर त्यहीँबाटै सबै कुरा भइहाल्छ भन्ने खालको जो जीवनशैली बन्यो, कार्यशैली बन्यो नि, त्यहाँबाट सङ्गठन गर्न जाने झेउलो गर्ने कुरा भएन । गर्नेहरूलाई पनि गर्न दिने भएन । त्यसो भएपछि के भयो भन्दाखेरि सङ्गठन पनि लथालिङ्ग भयो । अनि हिजोका कैयौँ लडाकु क्रान्तिकारी आस्थानिष्ठ बसेका, बाँचेका मान्छेहरू पनि बिस्तारै ओझेल पर्ने कुरा भयो । अथवा उनीहरू निष्क्रिय हुने भो । सेलाउने भयो । किनभने हुने काम हुँदैन, नहुने मात्र हुन्छ । जस्तो कि सरकार र सदनमा जानुभयो भने आफ्ना गुटका मान्छे, आफ्ना निजी मान्छे विभिन्न नातागोताका मान्छेहरूलाई पहिलो प्राथमिकता दिने कुरा भयो ।







