
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग हुन लागेको पार्टी एकतालाई भाँड्न एमालेभित्रैबाट षडयन्त्र भइरहेकाे भन्दै षडयन्त्रकारीहरूलार्इ ठीक पारिने चेतावनी दिएका छन्।
अाफ्नाे पार्टी निकट विद्यार्थी संगठनकाे केन्द्रीय पदाधिकारीसँग आइतवार आफ्नै निवासमा भएकाे प्रशिक्षणमा प्रचण्डले षडयन्त्रका विरूद्ध अाफुहरू जुधेर जाने दृढता व्यक्त गरेका छन् ।
‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन्’, उनले बिथोल्नेहरुको पहिचान नखुलाई भने, ‘त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ ।’
एकता प्रक्रियाबाट बाहिर जाने छुट कोही कसैलाई पनि नभएकोमा दाहालले जोड दिए । ‘एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन’, उनले भने ।
पार्टी एकता हुँदैन कि भन्ने अनेकन हल्ला चलिरहेकोतर्फ संकेत गर्दै उनले दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ नभएको बताए ।
‘भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म आफैँ स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन’, अध्यक्ष दाहालले भने ।







