एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक-अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो।
नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने-नहुने संशय देखा पर्न थालेको छ। एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो।
नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन।
नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफंै राख्न चाहेको थियो। तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ। एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन।
एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘एकता रोकिएको यही भन्ने छैन, एमालेको तर्फबाट सलल बगेको छैन, एमालेले अलि-अलि रोक्न खोजेको देखिन्छ’, माओवादी अध्यक्ष दाहालका भाइसमेत रहेका उनले भने, ‘विकल्प केही छैन, एकीकृत पार्टी अध्यक्ष हाम्रै अध्यक्ष प्रचण्ड हुने हो, प्रधानमन्त्री केपी ओली नै हुने गरी मात्र एकता हुन्छ, अन्य विकल्प नै छैन। अरूबाट हुँदैन, त्यो नमिल्दासम्म एकता हँुदैन।’
एमाले स्रोतले भने नेतृत्वको सन्दर्भमा आलोपालो नेतृत्व वा दुई अध्यक्षबीचको प्रणालीमा गएर भए पनि पार्टी एकता गर्नुपर्ने बताउन थालेको छ। एमालेका एक पदाधिकारीले भने, ‘छलफल जारी नै छ, आलोपालो नेतृत्व गरेर जाने वा दुई अध्यक्ष प्रणाली बनाएर जाने कि भन्नेमा छलफल छ।’
एमालेको दुई अध्यक्ष प्रणालीको पछिल्लो प्रस्ताव भनेको ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष र दाहाल पनि पार्टी अध्यक्ष हुने गरी दुई अध्यक्ष प्रणाली बनाउने भन्ने भएको नेता बताउँछन्।
तर, माओवादीले भने दुई अध्यक्ष प्रणालीको पछिल्लो एमालेको प्रस्तावलाई पनि स्विकारेको छैन। ‘पार्टी एकता भनेको दुई अध्यक्ष प्रणाली राखेर फेरि आ-आफ्नो पार्टी चलाउनेजस्तो कुरा हो, त्यो हामीलाई मान्य हुँदैन, अरू केही हुँदैन, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली हुने कुरा मात्र माओवादीको एकता गर्ने लाइन हो, नत्र एकताको सम्भावना कम हुन्छ’, दाहालले भने।
दुई फरक विचार बोकेका पार्टी एक हुने विषय जटिल नै भएकाले पनि प्रक्रिया लम्बिएको एमाले नेताहरूको भनाइ छ। ‘पदीय बाँडफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले पनि विभिन्न विकल्पको विषयमा छलफल भएको छ’, एमालेका ती पदाधिकारीले भने, ‘दुवै अध्यक्ष बन्नेसम्मका विकल्पमा कुरा भएको छ।’
एमालेका अर्का नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकताका लागि दुवै पार्टी लचिलो बन्न आवश्यक रहेको औंल्याए।







