नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपालमा भैराखेको राष्ट्रघातलाई एकीकृत जनक्रान्तिले मात्र रोक्न सक्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी पर्साले अाज बीरगंजमा अायाेजना गरेकाे ‘वर्तमान परिस्थिति र नेपाली राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रियामा   नेता सुदर्शनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविका दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण भएको भन्दै त्यसको उन्मूलन केवल एकीकृत जनक्रान्तिले मात्र गर्न सक्ने बताए ।

सुगौली सन्धिदेखि अहिलेसम्म नेपाल र भारतबीच भएका असमान सन्धिसम्झौताद्वारा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नवऔपनिवेशिक अवस्थामा पुगेको बताउँदै नेता सुदर्शनले अहिले नेपाली श्रमजीवी तथा उत्पीडित जनता र दलाल पुँजीवादका बीचको अन्तरविरोध प्रमुख बन्न गएको धारणा राखे ।

नेता सुदर्शनले प्राकृतिक साधनस्रोतहरूमाथि भारतीय एकाधिकारवादी पुँजी कम्पनीहरूको गिद्देदृष्टिले नेपाली राष्ट्रियतामाथि खतराको घन्टी बजिरहेको बताए ।

दलाल पँुजीवादका विरुद्ध नेपाली देशभक्त, किसान, मजदुर, सिपाही र राष्ट्रिय पुँजीपति वर्ग एक भएर लड्नुको विकल्प नभएकाे भन्दै नेता सुदर्शनले सम्पूर्ण समस्याको अन्तिम समाधान भनेको एकीकृत जनक्रान्ति मात्र भएकाे जिकिर गरे ।

दलाल पँुजीवादी संसदीय व्यवस्था उन्मूलन गर्न वर्गसङ्घर्ष र राष्ट्रियताको आन्दोलन जरुरी रहेकाे बताउँदै नेता सुदर्शनले याे दलाल संसदीय व्यवस्थाको विकल्प भनेको अन्ततः वैज्ञानिक समाजवाद भएकाे बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार