
नेपाल कम्युनिस्ट पार्टी दाङले दाङको घोराही सिमेन्ट उद्योगमाथि कारबाही गरेको छ ।
नेकपा दाङका सेक्रेटरी विक्रमले मंगलबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार उद्योग प्रभावित जनतासँग गरिएका पुराना सम्झौता कार्यान्वयन नगरी वातावरणीय स्वच्छता र मानवीय स्वास्थ्यलाई प्रतिकूल हुने गरी त्यसमा पनि जनतालाई झुक्याएर आफ्नो दोब्बर उत्पादन बढाउन जडान गर्न लागिएको प्लान्ट स्थापना बन्द गर्न निर्देशन दिएकाे छ ।
घाेराही सिमेन्ट उद्याेगकाे गेटमा नेकपाका कार्यकर्ताहरूले कालाे ब्यानरमा नयाँ प्लान्ट स्थापना नगर्न लेखिएको कालो ब्यानर टाँगेका छन् ।
वातावरणीय प्रदूषणलाई नियन्त्रण गरी प्रदूषणरहित वातावरण बनाउन पहल गर्नुको साटो उल्टै विभिन्न निकायसँग मिलोमतो गरेर अहिले उत्पादन भइरहेको भन्दा दोब्बर उत्पादन गर्न गैरकानुनी ढङ्गले प्लान्ट उद्योग प्रभावित जनताको आग्रहमा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘उद्योग क्षेत्रवरिपरि बसोबास गर्ने जनतासँग गरिएका सहमतिहरु कार्यान्वयन नगरिएको, सिमेन्ट उद्योगका कारण हजारौं जनताको स्वास्थ्य दिनप्रतिदिन रोगबाट ग्रसित भैइरहेको, कृषि उत्पादनमा कमि भएको, कतिपय जग्गामा जाने सिचाइ कुलोसमेत बन्द भएकोलगायतका विभिन्न समस्याहरु तुरुन्त हल गर्न सचेत गराएको छ’ विज्ञेप्तीमा भनिएकाे छ ।
नेकपा दाङले पूर्व सूचनालार्इ अवज्ञा गरे सम्पूर्ण उद्योग नै बन्द गर्न आन्दोलनको नेतृत्व आफ्नो पार्टी बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।







