
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादीसहित क्रान्तिकारी कम्युनिस्टहरुको आयोजनामा फागुन १ गते २३ औं जनयुद्ध दिवस मनाइने भएको छ ।
काठमाडौंमा फागुन १ गते हुने २३ औं जनयुद्ध दिवसमा नेकपाका शीर्ष नेताहरु र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसहितको शीर्ष नेताहरु सो कार्यक्रममा सहभागी हुनेछन् ।
सो कार्यक्रममा माओवादी केन्द्रबाट विद्रोही नेताका रुपमा रहेका प्रभावशाली नेता गोपाल किराती र छुट्टै माओवादी विचारसमुहको नेतृत्व गरिरहेका आहुतीलगायतका नेताहरु पनि सहभागी हुने भएका छन् ।
उता माओवादी केन्द्रले फागुन १ मै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अतिथिको रुपमा आमन्त्रण गरेर जनयुद्ध दिवस मनाउँदै गर्दा यता क्रान्तिकारीहरुको समुहले अर्को कार्यक्रम गर्न थालेको हो ।
क्रान्तिकारी ध्रुवीकरणको चर्चा चलिरहँदा नेकपा र क्रान्तिकारी माओवादीसहित पार्टीहरुबीच हुन लागेको यो कार्यक्रमले क्रान्तिकारी जनतामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।







