
माओवादी केन्द्रका अर्का विद्रोही नेता विश्वभक्त दुलाल आहुतीले जब माओवादी केन्द्रले हठातमा एमालेसँग एकताको निर्णय लियो, त्यही विन्दुबाट माके विघटनतिर गएको बताएका छन् ।
कुनै वैचारिक र सैद्धान्तिक बहस छलफलबिना माओवादी केन्द्रले एमालेसँग एकता गर्न खोज्नुले अहिले माओवादी केन्द्र नै नरहेको आहुतीको दाबी छ ।
नेकपा र माओवादी केन्द्रद्धारा राजधानीमा आयोजित संयुक्त २३ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै नेता आहुतीले एमाले र माओवादी केन्द्रको दक्षिणपन्थी धारलाई परास्त गर्न क्रान्तिकारी शक्तिहरु पनि बृहत बहसको प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताए ।
लेनिनपछिको ७० वर्षको एउटा चरण समाप्त भएको र अब क्रान्तिकारी कम्युनिस्टहरुले नयाँ ढंगले क्रान्तिकारी रणनीति र कार्यनीतिको विकास गरेर जानु पर्ने नेता आहुतीको भनाई थियो ।।
आज विज्ञान र प्रविधि मुख्य उत्पादक शक्ति बन्न पुगेको बताउँदै नेता आहुतीले विश्व र नेपालमा पनि सर्वहारा क्रान्ति निकै फरक ढंगले हुने दाबी गरे ।
आजको पुँजीवादले चार चरण पार गरेर भुमण्डलीकृत पुँजीवादको रुप लिएको भन्दै नेता आहुतीले यो पँुँजीवादको पछिल्लो स्वरुपलाई बुझेर मात्र सर्वहारा क्रान्ति हुन सक्ने बताए ।







