नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।
प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन मा भेटिन्छ ।
दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।
‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ । भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ । अाजकाे नागरिक दैनिकमा समाचार छ ।
दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । उनको मतदाता क्रमांक १०१ छ ।माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं.२ मा नाम छ । उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो । निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ । सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो ।
‘भारतको बिहार राज्यको दरभंगामा मेरो घर छ । अहिले घर भाडामा लगाएको छु । त्यहाँ राजनीतिक दल र शिक्षकहरूले मतदाताको नाम संकलन गरी टिपाउने गर्छन् ।
उनीहरूले नै मेरो नाम टिपाएका होलान् र भारतीय निर्वाचन आयोगले सोहीअनुसार मतदाता सूचीमा मेरो नाम राखेको होला,’ भारतीय मतदाता सूचीमा नाम रहेछ नि भनी नागरिकले राखेको जिज्ञासामा दासले भने, ‘मतदाता सूची भनेको नागरिकता होइन । त्यहाँ नातेदार छन्, उनीहरूले पनि नाम टिपाएको हुनसक्छ ।’ अप्ठेरो पर्दा भारतलाई सेल्टरका रूपमा प्रयोग गरेको उनले जनाए ।
दास यसअघि २०४८ र २०५१ सालमा दुईपटक सांसद भइसकेका छन् । उनी २०४८ र २०५१ मा नेपाली कांग्रेसबाट तत्कालीन सिरहा निर्वाचन क्षेत्र ३ बाट विजयी भएका थिए । २०४८ को निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएका थिए ।
२०५१ को मध्यावधि निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकार ९ महिनामा ढलेपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिए ।







