माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एकतापछिको पार्टी अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने आफूहरुको अहिले पनि भनाई रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता बस्नेतले पार्टी एकताको विषयमा छलफल चलिरहेको बताउँदै प्याकेजमै सहमति गरेर एकता गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

एकतालाई सामान्य खेलाँचीको रुपमा लिन नहुने स्पष्ट पारेका छन् । नेता कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण, नीति र विचार लगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने उनको भनाई थियो ।

चुनावी नतिजा र पार्टी एकता प्रक्रियाका आधारमा एमाले अध्यक्ष केपी ओलीलाई आफूहरुले प्रधानमन्त्रीको रुपमा स्विकार गरेको स्पष्ट पार्दै नेता बस्नेतले अन्य नेता कार्यकर्ताको पनि व्यवस्थापन जरुरी हुने बताए ।

चुनावका लागि बनाइएको वाम गठबन्धनलाई जनताले पार्टी एकता गर्नका लागि अनुमोदन गरेको जिकिर गर्दै बस्नेतले अब प्याकेजमै सहमति गरेर एकता गरिने बताए ।

वैचारिक र राजनीतिक विषयमा छलफल भइरहेको भन्दै उनले भने, “हामीले के भनेका छौँ भने मिलेका विषय मिलिसके, नमिलेका विषयमा छलफल गरेर साझा बिन्दु पहिल्याउने, जसले एकता दिगो बनाओस् ।” एकतालाई भरपर्दो र अग्रगामी बनाउनुपर्ने उनको भनाई छ ।

वैचारिक रुपमा माओवादीले भनेको २१औँ शताब्दीको माओवाद र एमालेले भनेको जनताको बहुदलीय जनवादका विषयमा छलफल गरेर साझा निष्कर्षमा पुग्नुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार