
माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने भएपछि संगठन माकेनिकट नेपाली जनप्रगतिशील मञ्च युएईबाट विद्रोह गर्न सुरु गरेको छ ।
तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका संस्थापक अध्यक्ष दुर्गा पोख्रेल नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् ।
पोख्रेलसहित उक्त मञ्च दुबई क्षेत्रीय समितिका सचिव बाबुराम गौतम पनि जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चा युएईले २३औं जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष पोख्रेल र क्षेत्रीय समिति सचिव गौतमलाई युएई मोर्चाले पार्टी प्रवेश गराएको हो ।
युएई स्थित दुबईको एभरेष्ट मार्सल हलमा भएको २३औँ जनयुद्द दिवस कार्यक्रमका प्रमुख अतिथि तथा युएई मोर्चाका वरिष्ठ सल्लाहकार समर खत्रीले दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रचण्डले माओवादी केन्द्र पार्टीलाई एमालेमा बिलिन गराउन लागेको भन्दै क्रान्तिकारी शक्तिहरु एकीकृत क्रान्तिको पक्षमा गोलबन्द हुनु पर्ने आवश्यकता भएको पोख्रेलले मन्तब्यको क्रममा बताएका थिए ।
मन्तब्यकै क्रममा अर्का बाबुराम गौतमले माओबादी केन्द्र संसदीय दलाल पार्टीमा भासिएको भन्दै क्रान्तिकारीहरु विद्रोह गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सहभागी हुन सम्पूर्ण क्रान्तिकारी सक्तिलाई आह्वान समेत गरेका थिए ।







